रामबहादुर बम्जनलाई थुनामा पठाउन अदालतको आदेश

सर्लाही जिल्ला अदालतले आफूलाई ‘लिटिल बुद्ध’ का नामले चिनाएका तपस्वी रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

तपस्वीको आवरणमा आश्रम खोलेर अपराधका शृखंला मच्चाएको आरोप लागेका बम्जनलाई जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल इजलासले बिहीबार पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

बिहीबार सात जना वकिलहरूले बहस गरेका थिए । प्रतिवादी बम्जनका तर्फबाट पाँच जना र वादीका तर्फबाट दुई जना सरकारी वकिलले बहस गरेका हुन् । अदालतमा बम्जनले १२-१४ वर्षीय किशोरीलाई बलात्कार र यौन दुरूपयोग गरेको मुद्दामा सुनुवाइ भएको थियो ।

अदालतबाट पक्राउ पुर्जी जारी भए पनि विगत ४ वर्षदेखि फरार रहेका बम्जनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार राति काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरेको थियो । बुधबार मध्यराति उनलाई सर्लाही पुर्‍याइएको थियो ।

सर्लाही पुर्‍याइएका उनलाई बिहीबार अदालतमा पेस गरिएको हो । बाल यौन दुराचारको मुद्दामा बम्जनको बयानपछि थुनछेक बहस भएको थियो ।

बम्जनविरूद्ध यौन दुर्व्यवहारसँगै हत्या गरेकाे र अनुयायी बेपत्ता पारेको पनि आरोप छ ।

बाराको निजगढ नगरपालिका-१२, रतनपुरी स्थायी घर भएका उनीविरूद्ध सर्लाही जिल्ला अदालतबाट २०७६ माघ २३ गते पक्राउ पुर्जी जारी भएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *