प्रमुख प्रशासकीय अधिकृत नहुँदा १९० स्थानीय तहको काम प्रभावित

देशभरका ७५३ स्थानीय तहमध्ये अझै पनि १९० स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त रहेको छ। स्थानीय तहको दोस्रो पटक निर्वाचन भएर जनप्रतिनिधि आउँदासमेत स्थानीय तहमा कर्मचारी अभाव र प्रमुख प्रशासकीय अधिकृतको समस्या समाधान हुन सकेको छैन।

प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त हुँदा करिब १९० स्थानीय तहको प्रशासकीय सेवा प्रभावित भएको छ। देशभरका ७५३ स्थानीय तहमध्ये ८० गाउँपालिका र ५० नगरपालिका निमित्तको भरमा चलेका छन्।

गाउँपालिका राष्ट्रिय महासंघका कार्यकारी निर्देशक राजेन्द्र प्याकुरलले १९० स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खाली रहेको बताए। उनले १९० मध्ये ८० गाउँपालिका र ११० नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत खाली रहेको उल्लेख गरे। उनले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत संघीय सरकारले पठाउने व्यवस्था रहेको भन्दै सबै स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्न नसक्दा लामो समयदेखि स्थानीय तहहरू निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालनमा रहेको बताए।

उनले संघीय मन्त्रालयले सबै स्थानीय तहमा पूर्ण दरबन्दीका कर्मचारी खटाउने काम अहिलेसम्म पनि गर्न नसकेको बताए। कार्यकारी निर्देशक प्याकुरेलले सरकारले करिब २ सय स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन बनाउँदा स्थानीय सेवा प्रवाह प्रभावित भइरहेको बताए। उनले स्थानीय तहहरूमा प्रमुख प्रशासकीय अधिकृत केन्द्र वा प्रदेश सरकारबाट पठाउने भन्नेमा विवाद रहेको बताए।

उनले संघीय निजामती ऐन, स्थानीय सेवाको मापदण्ड नबन्दा स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत र कर्मचारी अभावको समस्या समाधान हुन नसकेको बताए। न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै उनले संघीय निजामती ऐन, स्थानीय सेवाको मापदण्ड नबन्दा स्थानीय तहका कर्मचारीको वृत्ति विकास र नियुक्तिका विषयहरूमा अन्योलता कायम रहेको बताए। उनले स्थानीय तहहरूमा प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीको अभावका कारण कार्यसम्पादनमा समस्या देखिएको बताए।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कमल भट्टराईले भने स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नभएका स्थानमा निमित्तबाट काम भइरहेको बताए। उनले करिब ८० गाउँपालिका र ५० नगरपालिका गरी १२० स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृतले काम गरिहेको स्वीकार गरे। उनले तोकिएको श्रेणीका कर्मचारी अभावका कारण तोकिएको भन्दा एक तह तलको कर्मचारीलाई निमित्तको जिम्मेवारी दिएको बताए।

उनले तोकिएको श्रेणीको कर्मचारी अभावका कारण निमित्त बनाएर स्थानीय तहमा काम गराउनु परिरहेको बताए। ७५३ स्थानीय तहमा संघीय मामिला मन्त्रालयले तोकेका प्रमुख प्रशासकीय अधिकृतहरूबाट नै कार्यसम्पादन हुँदै आएको तर रिक्त नभएको उनको दाबी छ।

उनले कानुनले पनि तोकेको श्रेणीका कर्मचारी नहुँदा तल्लो तहका कर्मचारीलाई निमित्तको जिम्मेवारी दिएर कार्यसम्पादन गर्न सक्ने व्यवस्था ऐनले दिएको बताए। उनले कतिपय स्थानीय तहमा संघीय सरकारले पठाएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न नदिने, आफूले रोजेको अधिकृत पाउनुपर्ने माग गर्दै आएको भन्दै स्थानीय तहका प्रमुखहरूले रोजेको कर्मचारी पठाउन नसकिने बताए।

स्थानीय तहमा प्रमुख प्रशासकिय अधिकृत र कर्मचारी अभाव नयाँ होइन। मुलुक संघीयतामा गएर स्थानीय तहको स्थापना भएसँगै तोकिएको श्रेणीका प्रमुख प्रशासकीय अधिकृतको अभाव झेल्नुपरेको छ। स्थानीय तहको सेवा प्रवाह चुस्त र प्रभावकारी बनाउनका लागि तत्काल संघीय निजामती ऐन ल्याएर सम्पूर्ण स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्न जरूरी छ। सरकारको ध्यान कर्मचारी व्यवस्थापनमा जान नसक्दा स्थानीय तहको सेवा प्रभावित बन्दै गएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *