‘रूसी सेनामा बाँच्ने सम्भावना १ प्रतिशत मात्रै’

रुसी सेनामा कार्यरत एक नेपाली युवाले रुस नआउन आग्रह गरेका छन् । आफू रुसी सेनामा भर्ती भई युक्रेनविरुद्ध लड्दालड्दै घाइते भएको भन्दै ती युवाले कोही पनि नेपालीलाई रुस आएर रुसी सेनामा भर्ती नहुन अनुरोध गरेका छन् ।

टिकटकमा एक भिडियो सन्देश जारी गर्दै ती युवाले भनेका छन्, ‘म गोली र बम लागेर घाइते भएको छु, यदि कोही नेपाली युवा रुसी सेनामा आउने सोचमा हुनुहुन्छ भने नआउनु होला । बरु यहाँ भएका, फसेका घाइते नेपाली दाजुभाइलाई जसरी भए पनि उद्धार गरेर नेपाल फर्काउन सहयोग गर्नुहोस् ।’

रुसी सेनामा भर्ती भएका धेरै नेपाली गोली लागेर छटपटाइरहेको र आफू जस्तै धेरै साथीहरू फसेकाले सबैलाई उद्धार गर्न पनि ती युवाले नेपाल सरकार र त्यहाँस्थित नेपाली दूतावासलाई अनुरोध गरेका छन् । ‘मजस्तै धेरै दाजुभाइ यहाँ छट्पटाउँदै उद्धारको पर्खाइमा छौं, हामीलाई तत्काल सहयोग गर्नुहोस्,’ ती युवाले भनेका छन्, ‘यहाँ कोही पनि नआउनु । यहाँ एकदम डेन्जर छ । ९९ प्रतिशत मर्ने सम्भावना छ । बच्ने सम्भावना त १ प्रतिशत मात्र छ, त्यो पनि घाइते भएर मात्र बच्न सकिन्छ ।’

उनले भनेका छन्, ‘मृत्युपछि मेरो देशमा मेरी आमा र मेरो परिवारको छेउमा शव पुग्ने भए गोली खान र मर्न पनि तयार थिएँ, तर त्यो सम्भावना छैन । म नेपाल फर्किन्छु या फर्किन्न त्यो थाहा छैन । भोलिका दिनमा जे पनि हुन सक्छ, सायद भोलिको दिनमा म यो संसारमा नहुन पनि सक्छु, हाम्रा लागि यहाँ बोली दिने कोही पनि छैनन् । यो मेरो नेपालीका लागि उठेको पहिलो पुकार हो, मेरो पुकार नेपाल सरकारसम्म पुगोस् ।’

थप एक नेपालीको मृत्यु

रुसी सेनामा भर्ती भएका थप एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा रसुवा नौकुण्ड गाउँपालिका–५ का ३२ वर्षीय सुन्दर मोक्तान रहेका छन् । उनको २६ दिनअघि मृत्यु खबर आएको नौकुण्ड गाउँपालिका उपाध्यक्ष चन्द्रबहादुर घलानले बताए । उनको शव ल्याउने कुरा भइरहेको गाउँपालिका उपाध्यक्ष घलानले बताए । योसँगै रुसी सेनामा मृत्यु हुने नेपालीको संख्या १२ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर