व्यावसायिक निष्ठा एवं सामूहिक भावनाका साथ प्रहरी अस्पतालको गुणस्तर अभिवृद्धिमा लाग्न आईजीपीको निर्देशन

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरी अस्पतालको छवि, साख, विश्वास एवं अस्पतालले प्रवाह गर्ने सेवाको गुणस्तर अभिवृद्धि गर्न अस्पतालमा कार्यरत प्रहरी अधिकृतहरूले व्यावसायिक निष्ठा एवं सामूहिक भावनाका साथ उत्कृष्ट कार्यसम्पादन गर्नुपर्ने बताएका छन् ।

नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा बिहीवार आयोजित कार्यक्रममा अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीलगायतका प्रहरी कर्मचारीहरूलाई निर्देशन-सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताएका हुन् ।

प्रहरी महानिरीक्षक कुँवरले अस्पतालमा आउने सेवाग्राहीको आशा र समस्याहरूलाई सम्बोधन गर्दै अझ शिष्ट बोली वचन एवं व्यवहार तथा सकारात्मक सोचका साथ सेवाग्राहीलाई भावनात्मक रूपमा महसुस हुने गरी सेवा प्रवाह गर्न उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन दिए । अस्पतालले प्रदान गर्ने गुणस्तरीय सेवा प्रवाह एवं सेवाग्राहीको गुनासो व्यवस्थापनमा अस्पताल प्रशासनले अझै प्रवाभकारी भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए ।

प्रहरी महानिरीक्षक कुँवरले सीमित स्रोत साधनको समुचित प्रयोग गरेर व्यक्तिगत स्वार्थ भन्दा पनि पेसागत स्वार्थलाई केन्द्रबिन्दुमा राखेर अस्पतालको लक्ष्य हासिलका लागि अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीलगायतका प्रहरी कर्मचारीहरूले आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक वहन गरी सम्पादन गर्नुपर्ने बताए ।

कार्यक्रममा अस्पतालकी मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले धन्यवाद ज्ञापन गर्दै अस्पतालको विकास र सेवा विस्तारका लागि संगठन प्रमुखबाट प्राप्त महत्त्वपूर्ण निर्देशनलाई पालना गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । अस्पताललाई स्रोत र साधन सम्पन्न बनाउँदै स्वास्थ्य क्षेत्रमा आएका नवीनतम प्रविधि र पद्धतिलाई अंगीकार गरी स्वस्थ वातावरण बनाउन तथा बिरामीमैत्री सेवा प्रदान गर्न नेपाल प्रहरी अस्पतालमा कार्यरत कर्मचारीहरू सबैमा सकारात्मक सोचका साथ काम गर्ने वातावरण बनाउन सदैव प्रयासरत रहेको उनले उल्लेख गरे ।

कार्यक्रममा प्रहरी नायब महानिरीक्षकहरूलगायत अस्पतालमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर