आजदेखि ‘समुदायमा कांग्रेस’ अभियान सुरु, जनताका कुरा सुन्ने

कांग्रेसको आजबाट सांगठनिक सुदृढीकरणलक्षित ‘समुदायमा कांग्रेस’ अभियान सुरु हुने भएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार ‘समुदायमा जाऔँ, जनताका कुरा सुनौँ’ नारासहित २६ माघसम्म अभियान सञ्चालन हुनेछ । अभियानमा समुदाय तहमा जनस्तरका समस्याबारे जानकारी लिएर समाधान गर्नेदेखि कांग्रेसको नीतिअनुसार सुझाव संकलन गरिने उनले बताए ।

अभियानका क्रममा स्थानीयस्तरमा सेवा प्रवाह, विकास निर्माण र समुदायमा भएका असल अभ्यासबारे समेत जानकारी लिइने मुख्यसचिव पौडेलले बताए । कांग्रेसले अभियानलाई आसन ग्रहण र मन्तव्यरहित बनाइने बताएको छ । ‘अभियान वडाकेन्द्रित रहनेछ । सहिद दिवसको दिनबाट अभियानको पहिलो चरण सुरु हुनेछ । २६ माघमा सुशील कोइरालाको स्मृति दिवसको दिन पारेर समापन गरिनेछ । औपचारिक आसन ग्रहण र मन्तव्यलगायतका कार्यक्रम हुनेछैनन् । जनस्तरका गुनासा र सुझाव संकलनमा केन्द्रित हुनेछ,’ उनले भने ।

अभियानलाई समन्वयका लागि केन्द्रीय प्रतिनिधिलाई जिल्लामा खटाइसकिएको छ । ७ फागुनमा नीति अधिवेशनसमेत गर्ने गरी महासमिति बैठक हुँदै छ । कांग्रेसले सांगठनिक सुदृढीकरणको लक्ष्यसहित अभियानलाई वार्षिक कार्यतालिकामा समावेश गरेको थियो । यसअघि पटकपटक तय भएर सर्दै आएको अभियान पछिल्लो समय राष्ट्रिय सभा निर्वाचनका कारण सरेको थियो ।

४ साउनमा बसेको केन्द्रीय समिति बैठकले पारित गरेको वार्षिक कार्ययोजना पारित गर्दै १० देखि २४ भदौसम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । तर, वर्षा, रुकुम पश्चिम र जाजरकोटमा आएको भूकम्पलगायतका कारण देखाउँदै अभियान अनिश्चित बनेको थियो । १४ पुसमा सम्पन्न केन्द्रीय समिति बैठकले ७ देखि २२ माघसम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर