मधेसमा किन भयो पानीको सङ्कट ?

वातावरण तथा पर्यावरणविद्हरुले मधेसमा पानीको सङ्कट गहिरिँदै गएकाले समयमै उचित व्यवस्थापनमा लाग्नुपर्ने आवश्यकता औँल्याएका छन् । कदम नचालेमा मधेसमा पानीको सङ्कट आउनसक्ने चेतावनी दिएका छन् ।

जनकपुरधाममा जारी जनकपुरधाम साहित्य, कला तथा नाट्य महोत्सवमा माघ २० गते भएको ‘पानीबिना अकाल पडलै अकाले हो राम’ शीर्षकको विमर्शमा उनीहरूले चुरेको अनियन्त्रित दोहन, अव्यवस्थित पूर्वाधार निर्माण र नागरिक सचेतनाको अभावमा मधेसले निकट भविष्यमा पानीको चरम सङ्कट आउनेतर्फ सचेत गराए ।

इञ्जिनियर अजय दीक्षितले मधेसजस्तो गङ्गा मैदानमै पानीको सतह घट्नु वा पानीको स्रोत सुक्नु सामान्य नभएको भन्दै पानी पर्ने प्राकृतिक शैलीलाई विश्लेषण गरी व्यवस्थापनका लागि आवश्यक कदम चाल्नुपर्ने आवश्यकता औँल्याए । उनले विश्वभर पानीको सङ्कट गहिरिँदै गएको र त्यसको असर नेपाल तथा विशेषगरी मधेसले भोग्नुपर्ने अवस्था आउन लागेकाले पानी प्रयोग गर्ने व्यवहारमा समेत परिवर्तन ल्याउन जरुरी रहेको धारणा राखे । “पानी पर्ने प्राकृतिक शैलीमा बदलवा आएको छ, यो पहिले पनि हुन्थ्यो तर पछिल्लो समय मधेसमा त असारमा पनि पानी परेन। भूमिगत पानीका सतह निरन्तर घट्दो अवस्थामा छ। अर्कोतर्फ एउटा लोटाले दिनचर्या चल्ने हाम्रो परम्परागत बानीव्यहोरामा समेत बदलाव आएको छ। बदलिँदो प्राकृतिक शैली र नागरिकको व्यवहारअनुसार अब पानीको व्यवस्थापन गर्न नलागेमा समस्या विकराल हुनसक्छ”, दीक्षितले भने ।

डा विजय शर्माले विभिन्न अध्ययनले भूमिगत पानीको माथिल्लो तहमा समस्या आए पनि तल्लो तह ९डिपवाटर० मा धेरै समस्या नआइसकेकाले त्यसमा थप समस्या नआउँदै संरक्षण र व्यवस्थापनमा ध्यान दिनुपर्ने सुझाव दिए । उनले पानीे व्यवस्थापनको जिम्मा पाएका सम्बद्ध निकायले तल्लो तहबाट पानी सङ्कलन र अन्य निकायले पानीभरण प्रणालीमा छेडखानी नहुने गरी काम गर्नुपर्ने आवश्यकता औँल्याए ।

इन्जिनियर रत्नेश्वर लाल कर्णले वीरगञ्ज र धनुषाको हंसपुर नगरपालिकाका ९० प्रतिशतभन्दा बढी चापाकल तथा इनार सुकेको भन्दै यो समस्या समग्र मधेसले भोग्दै जाने बताए । उनले सतह पानीका स्रोत नदी सुक्दै गएका र भूमिगत पानीको तह पनि घट्दै जानुलाई सामान्य रुपमा नलिन सबैलाई आग्रह गरे ।

संरक्षण अभियानी एवं मधेस प्रदेशसभा सदस्य रामअषिश यादवले तराई मधेसमा राज्यको अव्यवस्थित विकास नीतिले नै पर्यावरण संरक्षणमा चुनौती थपिएको र त्यसैको असर पानीको स्रोतमा परेको धारणा राखे । उनले राजा महेन्द्रकै विकास नीतिअनुसार चुरे पहाड, घनाजङ्गललाई छेडखानी गर्ने गरी बनेका पूर्वपश्चिम राजमार्ग, मध्यपहाडी लोकमार्ग, निजगढ विमानस्थलजस्ता संरचनाले पारिस्थितिक प्रणाली खलबलिएको र त्यसको सबैभन्दा बढी असर मधेसले भोग्न थालेको धारणा राखे। छ हजारभन्दा बढी नदीनाला, चारवटा ठूला हिम नदी र विश्वको दोस्रो जलस्रोतको धनी भएर पनि नेपालमा पानीको अनिकाल हुँदैछ, यो चिन्ताको विषय हो, यादवले भने , त्यसैले अब विकास संरचना, पानीको प्रयोग र पुनःप्रयोगको व्यवस्थित पद्धति निर्माणको खाँचो छ। यसतर्फ लाग्नु सबैको दायित्व हो।

चुरे संरक्षणकर्मी नागदेव यादवले चुरे, महाभारत र हिमालय शृङ्खलाको संवेदनशील सम्बन्धलाई ख्याल गर्न सरोकारवालालाई आग्रह गरे । चुरेको छेडखानीले महाभारत र महाभारतको छेडखानीले हिमालयसमेत सङ्कटमा पर्ने भन्दै यादवले यी सबैको आधारविन्दुका रुपमा रहेको चुरेलाई संरक्षण गर्न सके मात्रै पर्वत शृङ्खलाको रक्षा र मधेसमा पानीको अभावपूर्ति गर्न सकिने बताए ।

वातावरण संरक्षणकर्मी शालिनी साह र सुरेश शर्माले एउटा व्यक्तिलाई दिनमा ७० लिटर जति पानी आवश्यक पर्ने समयमा मधेसमा एक–एक थोपा पानीका लागि भौँतारिनुपर्ने अवस्था आउनु दुःखद भएको र त्यसको सबैभन्दा बढी असर महिला, बालबालिकाले भोग्नुपर्ने भन्दै चिन्ता व्यक्त गरे ।

सो सत्रका सञ्चालक पत्रकार अनिल कर्णले गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले चुरे संरक्षण गर्न नसकेमा मधेस मरुभूमिकरण बन्ने र भावी पुस्तालाई आफ्नो अस्तित्व जोगाउनसमेत समस्या हुनेतर्फ चेतावनी दिँदै आउनुभएको विषयमा सरोकारवालालाई गम्भीरतापूर्वक सोच्न आग्रह गरे ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *