बर्दिवास नगरपालिका र ग्रिनसिफ्ट परियोजनाबीच कार्यक्रम संचालनगर्ने सहमतीपत्रमा हस्ताक्षर

दिगो विकासतर्फको महत्वपूर्ण कदममा बर्दिवास नगरपालिकाले ग्रीन सिफ्ट परियोजनासँग आधिकारिक रूपमा साझेदारी गरेको छ। ग्रिन सिफ्ट ःनेट जिरो कार्बन नेपाल (ग्रिनसिफ्ट नेपाल) को लागी प्लास्टिक फोहोरको परिक्रमा, चक्रिय अर्थतन्त्र प्रवर्द्धन गर्नका लागि युरोपेली संघको सहयोगमा कार्यन्वयन हुन लागेको चारवर्षीय परियोजना हो ।

यस परियोजनाको कार्यान्वयन गर्ने नेतृत्व क्रिएशन ले लिएको छ भने, यसका कन्सोर्टियम साझेदारहरू रेस्टलेस डेभलपमेन्ट र युथ इनोभेसन ल्याब रहेका छन् । त्यसैगरी बर्दिवास नगरपालिकाले फोहोरमैला व्यवस्थापनका लागि तथ्यांक संकलन, अनुसन्धान र नीति निर्माणमा सहयोग गर्न नगरपालिकामा फेलो राख्नका लागि वेस्ट स्मार्ट फेलोशिप सम्झौता ज्ञापन पत्रमा पनि हस्ताक्षर गरेको छ ।

बर्दिवास नगरपालिकाका उपमेयर तारा देवी महतोले साझेदारीप्रति उत्साह व्यक्त गर्दै भनिन्, ‘हामी यस परियोजनामा हस्ताक्षर गर्न र साझेदारहरूसँग मिलेर काम गर्न पाउँदा धेरै खुसी छौं। हामी आशावादी छौं कि प्रस्तावित गतिविधिहरूले हाम्रो नगरपालिकालाई प्लास्टिक फोहोर व्यवस्थापन क्षेत्रमा ठूलो प्रभाव पार्ने छ, र हामी यस परियोजनालाई कार्यान्वयन गर्न हाम्रो पूर्ण सहयोगको वाचा गर्दछौ ।’

बर्दिवास नगरपालिकासहित ग्रिनसिफ्ट नेपाल परियोजनाले बागमती, लुम्बिनी र मधेश प्रदेशका ९ पालिकामा काम गरिरहेको छ । ग्रिनसिफ्ट नेपालले फोहोर सङ्कलन गर्ने उद्योग, साना तथा मझौला उद्योग, सफाइकर्मीहरुको संस्था, युवाहरू, विद्यालयका बालबालिकाहरू र तीन तहका सरकारहरूसँग मिलेर काम गर्नेछ।

परियोजनाले सरसफाइ क्षेत्रमा आबद्ध उद्यमीहरूको क्षमता निर्माण गर्न उनीहरूको प्लास्टिक फोहोर संकलन क्षमता अभिवृद्धि गर्ने, प्लास्टिक वैकल्पिक उत्पादन र प्याकेजिङ्गको प्रवर्द्धनको लागि साना तथा मझौला उद्योगलाई समर्थन गर्ने, ज्ञान र चेतना अभिवृद्धि गर्न विद्यार्थीहरूसंग काम गर्ने, युवाहरूलाई पैरवी र सचेतना अभियानहरूमा संलग्न गराउने र युवा र सफाइकर्मीहरुको संस्थाको सक्रिय संलग्नता मार्फत समावेशी र प्रमाणमा आधारित नीतिनिर्माणका लागि तीन तहको सरकारलाइ सहयोग गर्ने उद्देश्य राखेको छ ।

यसैगरी, नेपालमा सन् २०४५ सम्ममा नेट शून्य उत्सर्जन हासिल गर्ने प्रतिबद्धतालाई यस परियोजनाले प्रवर्धन गर्दछ । यसले सन् २०३० सम्ममा १०० नगरपालिकाहरूमा फोहोर छुट्याउने र फोहोरबाट ऊर्जा बनाउन पहल गर्ने प्रतिबद्धता राखेको राष्ट्रिय निर्धारित योगदान (एनडीसी) लक्ष्यहरूमा पनि योगदान पुर्याउछ।

नीति विकास, सचेतना अभियानहरू, र क्षमता निर्माण पहलहरूमा सक्रिय संलग्नताको माध्यमबाट, बर्दिवास नगरपालिकाले चक्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरेको छ । यसले गर्दा दिगोपन र वातावरणीय व्यवस्थापनका राष्ट्रिय लक्ष्यहरूमा योगदान पुर्याउछ। बर्दिवास नगरपालिकाको यो पहलले वातावरणीय चुनौतीहरूको सम्बोधनमा सक्रियता देखाउँदै अन्य नगरपालिकाहरूको निम्ति उदाहरणीय बनेको छ ।

विगत केही दशकहरूमा प्लास्टिकको खपत उल्लेखनीय रूपमा बढेको छ, जसले प्लास्टिक फोहोर व्यवस्थापनका लागि महत्त्वपूर्ण चुनौतीहरू सिर्जना गरेको छ। नेपालभरका ल्यान्डफिलहरूमा दैनिक करिब ६०० टन प्लाष्टिक फोहोर फालिन्छ । प्रतिवर्ष २१९,००० टन हो। त्यसैगरी, नेपालमा प्लास्टिक चुहावट प्रतिवर्ष करिब २०,६०० टन हुने अनुमान छ। यी प्लास्टिकहरू समयको साथ वातावरणमा संचित भएर म्याक्रो र माइक्रो प्लास्टिकमा परिवर्तन हुन्छन् जसले वातावरणमा नकारात्मक प्रभाव पार्छ। त्यसैले प्लाष्टिकको परिक्रमा प्रवर्द्धन गर्न ग्रिनसिफ्ट नेपालले महत्वपूर्ण भूमिका खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर