शैल्यशिखर नगरपालिका : फर्जी कागजपत्र र बिलकै बिगबिगी

दार्चुलाको शैल्यशिखर नगरपालिकामा कर्मचारी र जनप्रतिनिधिको मिलेमतोमा फर्जी बिलका आधारमा भुक्तानी लिनेदिने भइरहेको खुलेको छ। पर्दाफासलाई नगरपालिका स्रोतबाट प्राप्त कागजपत्रले साना-साना भुक्तानीहरूमा फर्जी बिल प्रयोग भइरहेको खुलेको हो। यस्त, साना-साना रकमहरूबाट नगरपालिकाले धेरै भुक्तानीगर्ने गरेको पाइएको छ।

नगरपालिकामा कार्यरत लेखापाल विजय बिष्टलाई त्यहाँका कर्मचारी र जनप्रतिनिधिले अपुष्ट कागजहरूको बिल भुक्तानीका लागि दवाब दिन थालेपछि यस्तो खुलासा भएको हो।

दुईवटा नगरपालिका हेरिरहेका हाकिम एवं शैल्यशिखरका मेयर विजयसिंह धामीका आफ्नै छोरा पुष्करसिंह धामीले मेयर बुवा र आफू निकट कर्मचारी र ठेक्काहरूको फाइलमा सम्बन्धित कामको कुनै प्रमाणै नहेरी भुक्तानीका लागि सिधैँ लेखा शाखालाई तोक लगाउने गरेको पाइएको छ।

पर्दाफासलाई प्राप्त भएका कागजातहरूमा भुक्तानीका लागि हाकिम धामीलाई लेखिएका निवेदनहरूमा धामीले आवश्यक प्रमाणै नहेरी कागजात प्रमाणीत गरेर सिधैँ भुक्तानीका लागि भन्दै लेखा शाखालाई तोक लगाउने गरेका छन्।

आफू निकटबाहेक अन्य कर्मचारीका बिलहरू भुक्तानीका लागि आए विभिन्न कागजात नपुगेको भन्दै अनावश्यक दु:ख दिने र आफू निकटका मात्रै बिलहरू भुक्तानीका लागि लेखामा पठाउने गरेको नाम नबताउने शर्तमा एक कर्मचारीले बताए।

उनले तोक लगाएका बिल कार्यालयको कामका लागि हो वा अन्यमा खर्च भएको हो, छुट्टयाउन गार्हो छ।

उनले एउटा भुक्तानीको लागि तोक लगाएको एउटा १२८ नम्बरको बिल कात्तिक २८ गते काटिएको छभने सोही पसलको १२९ नम्बरको बिल कात्तिक १ गते काटिएको छ। हाकिम धामीले त्यतिपनि छड्के नहेरेर सिधैँ बिल प्रमाणित गरिदिएका छन्। करारमा कर्मचारी रहेको भाइको बिल भुक्तानीका लागि हाकिम धामीले सो बिल प्रमाणित गरेको देखिन्छ।

हेरौँ बिल :

यस्तै, नगरपालिकाअन्तर्गत रहेको कृषि भवनको जग्गा सफाइका लागि गत भदौ २७ गते प्रस्ताव एवं दररेट पेश गर्ने सूचना मागियो। १ सय ८१ नम्बर चलानी रहेको पत्रमा ‘७ दिनभित्र अर्थात पुष १९ गतेभित्र प्राविधिक तथा आर्थिक प्रस्तावसहित दररेट पेश गर्नहुन अनुरोध छ’ लेखिएको छ। उक्त पत्र शंकास्पद यहीँबाट देखिएको छ। भदौँ २७ को ७ दिन असोज २ गते हुनुपर्नेमा सिधैँ पुष १९ गते राखियो।

त्यसपछि असोज ५ गते आर्थिक तथा प्राविधिक प्रस्ताव मूल्याङ्कन समितिका संयोजक तथा हाकिम धामीको संयोजकत्वमा बैठक बसेर एक निर्णय गरियो। समितिका ५ सदस्यमध्ये हाकिम धामी अध्यक्ष, भाइपर्ने इन्जिनियर योगेशसिंह धामी सदस्य र आफूनिकट मानिएका कर्मचारी शिवदत्त जोशीले मात्रै उक्त निर्णयमा हस्ताक्षर गरेभने लेखापाल बिष्ट र अर्का कर्मचारी मनोरथ बिष्टले हस्ताक्षर गरेका छैनन्। स्रोतका अनुसार उक्त बैठक कहाँ र कहिले बसेको हो ती कर्मचारीलाई जानकारी नै नभएको पाइएको छ।

सो बैठकले नमस्कार निर्माण तथा ढुवानी सेवा महाकाली नगरपालिका-५ दार्चुलाबाट सबैभन्दा घटीमा दररेट पेश भएको हुँदा सोही कम्पनीलाई नै ठेक्का दिने निर्णय गर्‍यो। असोज १३ गते निर्माण कम्पनी र नगरपालिकाबीच ६ लाख रूपैयाँको सम्झौतापत्रमा हस्ताक्षर भयो।

हस्ताक्षर भएको ४ महिनापछि अर्थात माघ १० गते उक्त निर्माण कम्पनीले काम सम्पन्न भएको र भुक्तानी पाउँ भन्दै हाकिम धामीलाई निवेदन लेख्यो। हाकिम धामीले सिधैँ भुक्तानीका लागि भन्दै लेखालाई तोक लगाए। तर, लेखापाल बिष्टले भने पालिकाकै साउन १९ गतेको ९५ नम्बर चलानीको पत्रानुसार सबैकुरा सम्पन्न भइसकेको हुँदा भदौ २७ गते माग गरेको दररेट र सम्झौताको व्यहोरा नमिलेको भन्दै उक्त फाइल उल्टै हाकिम धामीको टेबलमा फिर्ता पठाइदिए।

स्थानीय निर्माण व्यवसायीहरूका अनुसार उक्त सरसफाइको लागि नगरपालिकाले सार्वजनिक सूचना प्रकाशन नगरेको आरोप लगाएका छन्। ‘आन्तरिकरूपमा नै सूचना निकालेर मिलेमतोमा दिइएको होला। अहिले सञ्चारमाध्यममा आएपछि मात्रै हामीलाई थाह भयो ठेक्का प्रक्रियामा दिइएको रहेछ,’ एक निर्माण व्यवसायीले पर्दाफासलाई बताए।

नयाँ भवन शिलन्यासभएर निर्माण हुन लागेपछि मात्रै जग्गा सफाइको सम्झौता

पर्दाफासलाई प्राप्त कागजपत्रअनुसार हाकिम धामीले कृषि भवन निर्माणका लागि जग्गा सरसफाइ गर्ने भन्दै असोज १३ गते नमस्कार निर्माण सेवा एण्ड ढुवानी सेवासँग सम्झौता गरेका छन्। नयाँ बनाउने भनिएको भवनमा पहिला (पुरानो) एक तले कृषि शाखाका २ कोठा र पशु शाखाका २ कोठा गरी ४ कोठा (जस्ताले छाएको र सिमेन्टले बनाएको) भवन रहेको थियो।

निर्माण कम्पनीले उक्त भवनलाई हटाएर नयाँ भवन निर्माणका लागि जग्गा सफाइ गरिदिनुपर्ने सम्झौता थियो।

हाकिम धामीले नगरपालिकाको तर्फबाट जग्गा सफाइका लागि असोज १३ गते सम्झौता गर्दा यता जग्गा सफाइ भएर हाकिम धामीकै बुवा पालिकाका मेयर विजय धामीले नयाँ भवनको तामझामका साथ सिलन्यास गरे।

यसरी हेर्दा हाकिम धामीले उक्त जमिनको सरसफाइको लागि भन्दै असोज १३ गते सम्झौता गरेको जमिन सरसफाइ भएर नयाँ भवनको भदौ ७ गते नै मेयर धामीले नै सिलन्यास गरेको पाइएको छ। हाकिम धामी र निर्माण कम्पनीको जग्गा सफाइको सम्झौता हुनुभन्दा करिब १ महिना अगाडि नै जग्गा सफाइ भएर भवन सिलन्यास भइसकेको थियो।

हेरौं कागजपत्र :

जग्गा सफाइभएपछि सिलन्यास/निर्माणाधिन नयाँ भवन र मिति

   

प्रतिक्रिया

One thought on “शैल्यशिखर नगरपालिका : फर्जी कागजपत्र र बिलकै बिगबिगी

  1. Bhupendra S Dhami उसाे भए भवन सफा गरेकाे पैसा दिनु पर्दैन???? कि म मेराे तलव भत्ताबाट दिउँ??? तत्कालीन प्रमुख प्रशासकीय अधिकृत निलम्बनमा हुदा लागत अनुमान तयार गरि सम्झौता नगरिकन काम गर्न लगाईएकाे रहेछ। म हाजिर भईसकेपछि उक्त कामकाे सम्झौता गरिएकाे हाे। उक्त कामकाे लागि बजेट विनियोजन गरिएकाे थिएन, कार्यपालिकाले बजेट रकमान्तरकाे निर्णय गरेपश्चात भुक्तानीका लागि ताेक लगाएकाे हुँ। भवन हटाउने कामै भएन ???? प्रक्रिया भन्दा पनि नतिजा लाई महत्त्व दिईएकाे हाे। फूलकाे आखामा फूलनै संसार …..

Leave a Reply

Your email address will not be published. Required fields are marked *