आज दुर्गा प्रसाईँको शक्ति प्रदर्शन, यी ७ रुटबाट जुलुस निस्कने

व्यवसायी दुर्गा प्रसाईँले मेची नदीछेउको काँकडभिट्टाबाट सुरु गरेको नागरिक बचाउ अभियानले आज (फागुन १) वार्षिकोत्सव मनाउँदै छ । प्रसाईँ नेतृत्वको अभियानले भृकुटीमण्डपमा भोलि कार्यक्रम गर्दै छ ।

गत मंसिर ७ को कार्यक्रममा काठमाडौंको चक्रपथभित्र कार्यक्रम गर्न नपाएका प्रसाईँले यसपालि उपत्यकाको मुटु नै मानिने स्थानमा गर्दै छन् । कार्यक्रमका लागि उनले यसपालि पनि देशका विभिन्न भागबाट सहभागी बोलाएका छन् । यसअघिको कार्यक्रम प्रदर्शनमा केन्द्रित थियो । अहिलेको कार्यक्रम सभामा केन्द्रित छ ।

सभामा आमन्त्रित अतिथिहरूले शुभकामना मन्तव्य पनि दिनेछन् । मुख्य वक्ताका रूपमा भने अभियानका संयोजक प्रसाईँ नै रहनेछन् ।प्रसाईँले वार्षिकोत्सव कार्यक्रमका लागि विभिन्न राजनीतिक दलका नेताहरूलाई पनि आमन्त्रण गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायतलाई पनि निम्तो बाँडिएको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि निम्तो दिइएको थियो । तर, पूर्वराजा शाह प्रसाईँको कार्यक्रम छलेर आइतबार नै चितवनतिर लागेका छन् । कार्यक्रम बिहान ११:३० मा सुरु गरी साँझ ५ बजेभित्र सक्ने योजना छ ।

अभियानले सहभागीलाई भृकुटीमण्डपसम्म पुग्नका लागि ७ वटा रुट तय गरेको छ । एउटा टोली नारायणगोपाल चोकबाट नाराजुलुससहित लाजिम्पाट हुँदै भृकुटीमण्डप पुग्नेछ ।

त्यस्तै अन्य टोलीहरू क्रमश: चाबहिल, कोटेश्वर–बानेश्वर, लगनखेल, बल्खु, कलंकी, कीर्तिपुर, बालाजु–नयाँ बसपार्कमा भेला भएर कार्यक्रमस्थल पुग्ने योजना बनाइएको छ । मङ्गलबारको कार्यक्रममा अभियानले विभिन्न चरणका प्रदर्शनका कार्यक्रम पनि सार्वजनिक गर्ने बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर