नामिबियामाथि नेदरल्यान्ड्सको सहज जित, नेपाल शीर्षस्थानमा

नेदरल्यान्ड्सले आईसिसि लिग–२ अन्तर्गत आफ्नो दोस्रो खेलमा नामिबियामाथि जित हासिल गरेको छ । त्रिवि क्रिकेट मैदानमा आज भएको अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा नेदरल्याण्ड्सले नामिबियालाई ७ विकेटले हराएको हो ।

नेदरल्यान्ड्स आफ्नो पहिलो खेलमा नेपालसँग पराजित भएको थियो । नामिबियाले भने पहिलो खेलमा नेपाललाई पराजित गरेको थियो । दुवै खेलपछि तीनै टिमको समान २ अंक भए पनि नेट रनरेटको आधारमा नेपाल शीर्षस्थानमा छ ।

आज भएको खेलमा टस जित्दै नेदरल्यान्डसले पहिलो बलिङ गर्ने निर्णय गरेको थियो । ब्याटिङमा उत्रिएको नामिबियाले १२३ रन मात्र बनाउनसक्यो । नामिबियालाई सस्तैमा समेट्न स्पिनर आर्यन दत्तले ९ ओभरमा ३४ रन खर्चिंदै ६ विकेट लिए । नामिबियाले ३५.१ ओभरमा सबै १० विकेट गुमाउँदै १२३ रन बनाएको हो ।

नामिबियाका लागि जेजे स्मितलले ४६ बलमा १ चौका र २ छक्का सहित सर्वाधिक २६ रन बनाए । रुबेन ट्रम्पलम्यानले ३९ बल खेल्दै १ छक्कासहित २० रन बनाए । नामिबियाको शीर्षक्रमका कुनै ब्याटर चल्न सकेनन् ।

१२४ रनको लक्ष्य नेदरल्याण्ड्सले २७.२ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो । नेदरल्याण्ड्सका लागि ओपनर माइकल लेभिटले ८१ बल खेलेर ८ चौका र २ छक्काको मद्दतमा ५१ रन जोडे । अर्का ओपनर म्याक्स ओ’डाउडले २८ रन बनाए । साइब्रान्ड एङ्गलब्रेक्टले ६ रन जोडे । बास डे लिडे २१ र कप्तान स्कट एडवार्ड्स ४ रन बनाएर अविजित रहे । नामिबियाका लागि ३ विकेट नै कप्तान जेरार्ड इरासमसले लिए ।

बुधबार नेपालले नामिबियाको सामना गर्दै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर