त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प हुँदाहुँदै नेपाल भित्रिएका जहाज भारत डाइभर्ट

काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कारणवश अवतरण हुन नसकेका जहाज वैकल्पिक विमानस्थलका रूपमा प्रयोग गर्न भैरहवास्थित गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तयारी अवस्थामा छन् तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प हुँदाहुँदै पनि विभिन्न मुलुकबाट नेपाल भित्रिएका जहाज भने अझै भारततर्फ डाइभर्ट हुने क्रम रोकिएको छैन ।

यसै क्रममा बिहीबार भारतको मुम्बईबाट काठमाडौँ आएको इन्डिगो एयरको जहाज खराब मौसमका कारण काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि नेपालका वैकल्पिक विमानस्थलमा अवतरण नभई सोझै भारतको लखनउ डाइभर्ट भएको छ ।

विगतमा नेपालमा एउटा मात्रै अन्तर्राष्ट्रिय विमानस्थल हुँदा काठमाडौँमा कुनै अवरोध भए विमान भारतको पटना र लखनउमा अवतरण हुने गरेका थिए । अहिले देशभित्रै तीन वटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा भए पनि भारततर्फ डाइभर्ट हुने समस्या भने ज्युँका त्युँ छ । अहिले पनि जहाज घण्टौँ आकाशमा फन्को लगाएर निरन्तर भारततर्फ डाइभर्ट हुने क्रम रोकिएको छैन ।

आफ्नै दुई वटा वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल हुँदासमेत विमान किन भारत पठाइन्छ भन्ने चासोबारे जवाफ दिँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख प्रतापबाबु तिवारीले जहाजले उडान भर्नुअघि नै वैकल्पिक विमानस्थल खुलाउने प्रावधान अनुसार कहाँ अवतरण गर्ने भनेर पहिले नै प्रस्ट भइसक्नुपर्ने भएका कारण जहाज लखनउ डाइभर्ट भएको दाबी गर्नुभयो । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर