रक्षामन्त्री खड्का र एड्मिरल अक्विलिनोबीच भेटवार्ता

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग अमेरिकी सेनाको इण्डो प्यासिफिक कमाण्डका प्रमुख एड्मिरल जोहन सि एक्विलिनोले शिष्टाचार भेट गरेका छन्।

त्यसअवसरमा उपप्रधानमन्त्री खड्काले नेपाल र अमेरिकाबीच सन् १९४८ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै सुमधुर रहेको बताउँदै नेपालको विकासमा अमेरिकाले निरन्तर सहयोग गरेकामा आभार प्रकट गरे। उनले भविष्यमा अमेरिकी सहयोगको अझ वृद्धि हुने विश्वास व्यक्त गरेको रक्षामन्त्रीको निजी सचिवालयले जनाएको छ।

संयुक्त राष्ट्रसंघीय शान्ति सेनाका माध्यमबाट नेपालले विश्वशान्ति स्थापनामा निरन्तर योगदान गर्दै आएको र भविष्यमा पनि नेपालले सुरक्षाकर्मी परिचालन गरेर त्यसलाई निरन्तरता दिने प्रतिबद्धता मन्त्री खड्काले व्यक्त गरे। संयुक्त राष्ट्रसंघको शान्ति स्थापना कार्यमा धेरै सैनिक र महिला शान्ति सैनिक खटाउने मुलुकको सूचीमा नेपाल पहिलो स्थानमा रहेको एक्विलिनोलाई जानकारी दिए।

रक्षामन्त्री खड्काले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालको भौतिक स्तरोन्नतिमा अमेरिकी सरकारबाट भएको सहयोग महत्वपूर्ण रहेको बताउँदै उक्त केन्द्रबाट संयुक्त राष्ट्रसंघीय शान्ति मिसनको लागि आवश्यक दक्ष जनशक्ति तयार गर्न ठूलो सहयोग पुग्ने बताए।

एक्विलिनोले नेपाल र अमेरिकाबीचको सम्बन्ध र सहकार्य निरन्तर जारी रहने र भविष्यमा अझ सुदृढ हुने विश्वास व्यक्त गरे। उनले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको स्तरोन्नतिमा सघाउन अमेरिकी सरकार सकारात्मक रहेको बताए। उनले विश्वशान्ति स्थापनामा नेपाली शान्ति सैनिकले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे।

नेपालले विश्वमा शान्ति कायम गर्न गरेको योगदानको कदरस्वरूप राष्ट्रसङ्घीय ‘मिसन’का नेतृत्व तहमा नेपालको प्रतिनिधित्वका लागि अमेरिकी सरकारको तर्फबाट सधै सहयो गर्ने प्रतिबद्धता व्यक्त गरे।

नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर थोम्सनले अमेरिका र नेपाल लामो समयदेखि असल मित्रका रुपमा सहकार्य र साझेदारी गर्दै आएका तथा भविष्यमा पनि मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध अझ प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरे।

त्यस अवसरमा रक्षा मन्त्रालयका सचिव, नेपाली सेनाका उपरथी रक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा अमेरिकी राजदूतावासका अधिकारीको उपस्थिति थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर