विवादित मन्त्रीहरुले संसदमा जवाफ दिनुपर्छः लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विवादित मन्त्रीहरुले आफूमाथि उठेका प्रश्नहरुको संसदमा उभिएर जवाफ दिनुपर्ने बताएका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा सभापति लामिछानेले विवादित मन्त्रीहरुले आफूहरुमाथिको आरोप निराधार हुन् भने संसदमा आएर जवाफ दिनुपर्ने बताएका हुन् । उनले एनसेल खरिद बिक्री प्रकरणको छानविन प्रतिवेदनमाथि पनि संसदमा छलफल हुनुपर्ने बताए ।

‘यो सार्वभौम संसदलाई लडाइँको क्षेत्र जस्तो, आरोप–प्रत्यारोपको क्षेत्रजस्तो किन बनाइएको छ ? सभामुखबाट रुलिङ समेत भइसकेको विषयमा सरकारका केही मन्त्रीहरुले आफूलाई लागेको गम्भीर आरोपका विषयमा यो सदनमा आएर उभिएर जवाफ दिन रोकेको छ के ले ? किन यो चिज निरन्तर मागिरहनुपर्ने भयो ? यदि कुनै अफ्ठ्यारो छैन, यदि आफूमाथि उठेका प्रश्नहरुको जवाफ दिनसक्ने यथेष्ट आधारहरु छन्, ती आरोप वा विषयहरु निराधार हुन् भने सार्वभौम संसदमा उभिएर त्यस बारेमा भन्नका लागि सरकारलाई के ले रोक्यो ?’ उनले प्रश्न गरे ।

उनले अगाडि भने, ‘सभामुखले लगातार तीन पटक रुलिङ गरिसक्नुभएको छ । सभामुखको रुलिङलाई पनि बेवास्ता गर्ने ? प्रतिपक्ष मात्र होइन सत्ता पक्षमा रहेका साथीहरु समेत सरकारका विभिन्न रवैयाहरुको विरोध गरिरहेको, आलोचना गरिरहेको यो परिप्रेक्ष्यमा जुन ढंगले बेवास्ता गरिएको छ, यो गम्भीर विषय छ । लोकतन्त्रको लागि यो सुहाउँदो भएन । भद्दा भयो । त्यसकारणले म सबैको ध्यानाकर्षण गराउन चाहन्छु । त्यो मात्रै होइन एक्जियाटाको रिपोर्ट खोई ? कयौँ विषय हामीले मागेका छौँ । एनसेल खरिद बिक्रीको विषयलाई लिएर संसद, सडक तात्यो । खोइ यो विषयमा हामीले चर्चा गर्न पाएको ?’

उनले सरकारले मिटरब्याज पीडितहरुको समस्या समाधान नगरेको पनि आरोप लगाए । सरकारले विगतमा मिटरब्याज पीडितहरुको समस्या समाधान गर्ने झुटो आश्वासन दिएको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर