बजेट नबढाए नयाँ काम गर्न सकिँदैनः सचिव शर्मा

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले आगामी आर्थिक वर्ष २०८१/८२ मा बजेटको सिलिङ नबढाएमा नयाँ विकास निर्माणको योजना ल्याउन नसकिने बताएका छन् ।

बिहीबार प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सचिव शर्माले आगामी आर्थिक वर्ष २०८१/८२ मा बजेटको सिलिङ बढे मात्रै नयाँ विकास निर्माणका योजना अगाडि बढाउन सकिने बताएका हुन् ।

उहाँले आर्थिक वर्ष २०८१/८२ का लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई १२४ अर्बको सिलिङ आएको बताए । नयाँ योजना समेत गर्नुपर्ने हुँदा मन्त्रालयलाई २०० अर्बको सिलिङ आवश्यक भएको उनको भनाइ छ । उनले १२४ अर्बको सिलिङबाट पनि पुराना आयोजनाहरुलाई बजेट छुट्याउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै सिलिङ नथपिएमा नयाँ काम केही पनि गर्न नसकिने बताए ।

शर्माले यति नै बजेटको सिलिङ भएमा पुराना काम मात्रै सक्नेगरी अगाडि बढ्नुपर्ने अवस्था रहेको जानकारी दिए । बजेटको सिलिङभन्दा बाहिर गएर काम गर्न नसक्दा सांसदहरुले माग गरे अनुरुपको सडक तथा पुलहरु निर्माण गर्न नसकिएको उनको भनाइ थियो ।

‘पौडि खेल तर हातखुट्टा चाहीँ बाँधिदिन्छु भनेको जस्तो जसरी पनि गर्नुप¥यो । मेरो निरीहता यहाँ प्रकट गरें । मैले सिलिङभन्दा बाहिर गएर त बाँड्न सक्दिनँ । हाम्रो सिलिङ यति नै हो त थपिन्छ कि ? होइन भने हामी नयाँ त केही पनि गर्न सक्दैनौँ । नीति, कार्यक्रममा पनि केही पनि नलेखे हुन्छ । त्यो कुरा मैले सचिव बैठकमा पनि राखेको छु । अब नयाँ कुरा गर्ने कि नगर्ने भनेर कन्फर्म गरिदिनुपर्छ । कि दुईचार वर्ष पुराना काम सकाउ र नयाँमा जाऔँ । कि बजेटको आकार बढाऔं,’ उनले भने ।

उनले चालु आर्थिक वर्षको मन्त्रालयको खर्च हालसम्म २९ प्रतिशत भएको र ६ अर्ब रुपैयाँ गत वर्षकै भुक्तानी गर्न बाँकी रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर