राष्ट्रपतिबाट टुँडिखेलमा महाशिवरात्रि बढाइँ अवलोकन

यसरी मनाइयाे सेना दिवस

राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्रि तथा २६१औँ सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सहभागि भएका छन्  । उनले सैनिक स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुका साथै नेपाली सेनाद्वारा अर्पण गरिएको सलामी लिएका थिए ।
राष्ट्रपति पौडेल नेपाली सेनाका परमाधिपति हुन् । नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । शास्त्रीय मान्यताअनुसार शिवलाई शान्ति र सुरक्षाको प्रतीकका रूपमा लिने गरिन्छ ।
समारोहमा राष्ट्रपति पौडेलले नेपाली सेना, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा प्रकाशित ‘सिपाही–२०८०’ वार्षिक पत्रिका विमोचन गरे । उनले ‘फ्री फल जम्प’ मा प्रथम भएका अमलदार टङ्कबहादुर डाँगी र दोस्रो भएका सेनानी जगनाथ दनैलाई पुरस्कार प्रदान गरे । राष्ट्रपति पौडेलले सेना दिवस समारोहमा ब्याण्ड प्रस्तुत गर्ने भारतीय, बेलायती र अमेरिकी सेनाका टोली प्रमुखलाई सम्झनास्वरुप उपहार प्रदान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
   
यसअघि सेनाको हेलिकप्टरमार्फत पुष्पवृष्टि गर्नाका साथै राष्ट्रिय झण्डा र ‘सेना दिवस–२०८०’ लेखिएको ब्यानर प्रदर्शन गरियो । त्यस अवसरमा सेनाले राइफल र तोपबाट महाशिवरात्रि बढाइँ तथा कवाज प्रस्तुत गरेको थियो । समारोहमा सेनाद्वारा विभिन्न रणकौशल तथा परम्परागत वेशभूषा झल्कने विविध कला, नृत्य र सङ्गीतको धुन प्रदर्शन गरियो । कार्यक्रममा मार्चपास समेत प्रस्तुत गरिएको थियो ।
सो अवसरमा नेपाली सेनाले शान्ति मिसनमा प्रयोग गर्दै आएका विभिन्न खालका सवारीसाधन, उपकरण र हातहतियारको प्रदर्शन गरिएको थियो । सेनाको टोलीबाट नेपालको झण्डा, देशको नक्सा, डमरु आकृतिलगायतको प्रस्तुति भएको थियो । सो अवसरमा नेपालको प्रसिद्ध थाल नृत्य समेत प्रदर्शन गरिएको थियो ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ उपस्थित थिए । उपप्रधानमन्त्री, मन्त्रीहरु, सांसद, संवैधानिक निकायका प्रमख एवं पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका ब्यक्तित्वहरुले पनि शिवरात्रिको बढाइँ अवलाेकन गरेका थिए ।
यस्तै सोही अवसरमा प्रधानसेनापति प्रभुराम शर्माले समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तिलाई प्रधानसेनापति प्रशंसा पदक प्रदान गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *