राप्रपा नेता तथा पूर्वएआईजी श्रेष्ठलाई हातपात गर्ने ३ जना निलम्बित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा सशस्त्र प्रहरी बलका पूर्वएआईजी ठाकुरमोहन श्रेष्ठमाथि हातपात गरेको भन्दै राप्रपाले आफ्ना ३ नेतालाई निलम्बन गरेको छ ।

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति सदस्य रहेका श्रेष्ठमाथि गत फागुन २७ मा कार्यालयमै कुटपिट भएको थियो । कुटपिटमा संलग्न पार्टीका सहायक महामन्त्री प्रेम बलायर, काठमाडौं क्षेत्र नम्बर ४ का क्षेत्रीय अध्यक्ष रिद्धिप्रताप राणा र राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिव निराजन बमलाई राप्रपाले आइतबार पत्र नै काटेर पार्टीबाट चार वर्षका लागि निलम्बन गरेको हो ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा श्रेष्ठ र राप्रपा महामन्त्री विक्रम पाण्डेबीच भनाभन भएको थियो । अनुशासन कारबाहीलगायत विषयमा श्रेष्ठले आफ्नो धारणा राखेपछि महामन्त्री पाण्डेले उनलाई लक्षित गर्दै ‘पार्टीमा आएका नयाँलाई प्रशिक्षण’ दिनुपर्ने बताएका थिए ।

जवाफमा श्रेष्ठले पाण्डेलाई ‘भ्रष्टाचारी’को आरोप लगाएपछि बैठकमा तनाव बढेको थियो । त्यसपछि केही समयका लागि बैठक स्थगित भएको थियो । बाहिरिएका श्रेष्ठमाथि बलायर लगायतको समूहले आक्रमण गरेको राप्रपाले जनाएको छ ।

कारबाहीमा पर्ने बलायर महामन्त्री पाण्डेका स्वकीय सचिवसमेत हुन् । कुटपिटको सीसीटीभी फुटेज नै सामाजिक सञ्जालमा सार्वजनिक समेत भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *