तल्लो सेतीका लागि चितवन र तनहुँमा जग्गा प्राप्तिमा सरकारको स्वीकृति

एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको एक सय २६ मेगावाटको तल्लो सेती आयोजनाका लागि जग्गा प्राप्त गर्न सरकारले स्वीकृति प्रदान गरेको छ ।

सरकारले आयोजनाका लागि तनहुँमा करिब पाँच सय ७७ र चितवनमा करिब ३२ रोपनी जग्गा प्राप्त गर्न स्वीकृति दिएको हो । केही दिन अगाडि बसेको मन्त्रिपरिषद्को बैठकले जग्गा प्राप्त गर्न स्वीकृति दिएको तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले बताए ।

लिमिडेटले ऊर्जा मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा उक्त प्रस्ताव गरेको थियो । सरकारले जग्गा प्राप्तका लागि स्वीकृति प्रदान गरेसँगै आयोजनाका लागि जग्गा अधिग्रहणको काम अगाडि बढाउन सहयोग पुग्ने श्रेष्ठले बताए ।

‘विविध कारणवश जग्गा प्राप्त गर्नका लागि स्वीकृति पाउन ढिलाइ भइरहेको थियो, सरकारको निर्णयसँगै अब जग्गा अधिग्रहणको कामलाई अगाडि बढाइनेछ,’ उनले भने ।

आयोजनाका प्रमुख श्यामजी भण्डारीले अब प्रारम्भिक अधिकृत तोकेर काम अगाडि बढाइने जानकारी दिए । ‘सरकारको निर्णयसँगै जलाशय क्षेत्रका लागि आवश्यक जग्गा अधिग्रहणको काम अगाडि बढाउन सहयोग पुग्नेछ,’ उनले भने ।

आयोजनाअन्तर्गत बन्दीपुर गाउँपालिका–६ र देवघाट गाउँपालिका–३ साराङघाट नजिकै रहेको सेती नदीमा ३२ मिटर अग्लो बाँध निर्माण गरिनेछ । पानीको प्रवाहलाई देवघाट गाउँपालिका–३ र ४ हुँदै छ दशमलव आठ किलोमिटर लामो सुरुङमार्फत सेती नदीको सङ्गमदेखि करिब पाँच सय मिटर तल्लो तटीय क्षेत्रमा पर्ने देवघाटस्थित कालीगण्डकी नदीको दायाँ किनारमा बन्ने अर्ध भूमिगत विद्युत्गृहमा खसाली विद्युत् उत्पादन गर्ने योजना बनाइएको छ ।

आयोजनाबाट बन्दीपुर–६, व्यास–१३ र १४, देवघाट–२, ३ र ४, ऋषिङ गाउँपालिका–१ र ३, आँबुखैरेनी–५ र ६ तथा भरतपुर महानगरपालिका–२९ का केही भाग प्रभावित हुनेछ । देवघाट वडा नं ४ गाईघाटमा अर्धभूमिगत विद्युत्गृहको निर्माण गरी विद्युत् उत्पादन गरिने छ । उक्त आयोजनाको लागत रु. २५ अर्ब अनुमान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर