प्रहरीको जागिर छाडेर दुग्ध व्यवसायबाट मनग्य कमाउँदै वियश राई

‘सीप र जाँगर भए कसैसँग हात फिँजाउन पर्दैन’ नेपाली यस भनाइलाई सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ का एक युवाले सावित गरिदिएका छन् । नेपालमा गरिखाने बाटो छैन भन्दै दैनिक एक हजार पाँच सयभन्दा बढी नेपालीहरु हातमा राहदानी बोकेर विदेशिने गर्छन् । मासिक रू. ४०–५० हजार कमाउन र गुजारा चलाउनकै लागि खाडीको यात्रा तय गर्ने युवा जनशक्तिको कमी छैन यहाँ ।

जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा राहदानी बनाउन पुग्ने दैनिक करिब ४० युवामध्ये झण्डै ८० प्रतिशत जतिले रोजगारका लागि खाडीमा जाने योजना सुनाउँछन् । उनीहरु भन्छन्, ‘स्वदेशमा न त कुनै जागिर नै छ न नै । अनि विदेश नहानिएर के गर्नु ? यहाँ बसेर कामै छैन् ।’

तर जिल्लाको नेचासल्यान गाउँपालिका–२ का वियश राईले भने नेपाल प्रहरी नायब निरीक्षकको जागिर छोडेर गाउँमै सुरु गरेको दुग्ध व्यवसायबाट मनग्य आम्दानी गर्न सफल भएका छन् ।

उनले सुरु गरेको उद्यमबाट आफू मात्रै स्वरोजगार भएका छैनन्, गाउँका अन्य थुप्रै युवालाई समेत प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा रोजगार सिर्जना गरेका छन् । बिहानदेखि बेलुकासम्म निरन्तर आफनो व्यवसायमा व्यस्त रहने बेफुर्सदिला व्यक्ति हुन् राई ।

बिहान सबेरै उठेर दूध सङ्कलनका भाँडाकँुडा हातमा बोकेर कहिले आफ्नै गाउँटोल त कहिले छिमेकी गाउँका कृषकहरुको घरदैलोमा पुग्छन् उनी । राईले डेरी व्यवसाय तथा दुग्धजन्य परिकारहरुको बिक्रीबाट कमाएर नै परिवार पाल्ने साथै स्थानीय व्यक्तिहरुलाई समेत रोजगार दिँदै आएका छन् ।

२०७९ सालको स्थानीय निर्वाचनमा प्रहरी नायब निरीक्षक पदबाट राजीनामा दिएर वडाध्यक्षको पदमा नेचासल्यान गाउँपालिका–२ बाट उम्मेद्वारी दर्ता गराएका उनी निर्वाचनमा पराजित भएपछि आफ्नै गाउँमा केही व्यवसाय सञ्चालन गर्ने र अन्य युवालाई समेत प्रेरणा दिने सोच आफूमा पैदा भएको सुनाउँछन् ।

‘गाउँघरमा रोजगारको बाटो छैन भन्ने र मासिक रू. ४०–५० हजार कमाइ गर्नकै लागि खाडी जाने युवाहरुको जमात असाध्यै धेरै देखँे, म आफू त प्रहरीको छोडेर गाउँ होमिएको व्यक्ति हुँ तर गाउँका युवाको विदेश पलायनले मन छोयो र गाउँमै केही गर्न सकिन्छ भन्ने उदाहरण पेस गर्न पनि मैले यो उद्यम सुरु गरेँ,’ उनले भने ।

उनले २०७९ मङ्सिरबाट कोठा भाडामा लिई दूध संकलन गरी दूध र दही बिक्री गर्न थाले । व्यवसायलाई क्रमिक रुपमा विस्तार गर्ने उद्देश्यका अघि बढेका राईले ज्ञान तथा सीपको आवश्यकता महशुस गरी आफ्नै लगानीमा इलाममा गई दुग्ध तालिम लिए ।

उनको लगनशीलता र मेहनत देखेर व्यवसाय विस्तारका लागि गाउँपालिकाले रु. दुई लाख आर्थिक सहयोग गरेको भएता पनि पर्याप्त भने थिएन । यसै क्रममा उनले गाउँपालिकामार्फत जिआइजेड नेपालअन्तर्गत रिप–ग्रिन कार्यक्रमले डेरी तालिम सञ्चालन गर्न लागेको कुरा थाहा पाए र गाउँपालिकाको सिफारिसमा तालिमका लागि छनोट पनि भए ।

२०८० बैशाख ५ गतेदेखि १० गतेसम्म सो कार्यक्रमले इलाममा सञ्चालन गरेको डेरी उत्पादन सीप विकाससम्बन्धी तालिममा सहभागी भए । तालिममा देशभरबाट जम्मा भएका नव उद्यमी, सिकेका ज्ञान, सीपले उनलाई थप व्यावसायिक बन्ने ऊर्जा मिल्यो ।

तालिमपश्चात यसलाई नै मुख्य पेशाको रूपमा अँगाल्न सुरु गरे । उनले व्यवसाय समेत दर्ता गरी दूधबाट बन्ने दही, पनीर, घीउ, खुवा र आइसक्रिमजस्ता परिकारहरु नेचासल्यान गाउँपालिका साथै सदरमुकाम सल्लेरीबजारमा समेत बिक्री गर्न थाले ।

सदरमुकाम सल्लेरीमा मात्रै दैनिक सात सय लिटरभन्दा बढीको दूध खपत हुन्छ भने नेचासल्यानमा दैनिक १०० लिटरसम्म दूध खपत हुने गरेको उद्यमी राईको भनाइ छ । जिल्लामा व्यावसायिक पशुपालन र दूध उत्पादन फस्टाउन नसक्दा डेरी व्यवसाय सञ्चालनमा चुनौती थपिएको उनले बतए ।

‘जिल्लाका किसानहरुले परम्परागत ढङ्गबाट बस्तुभाउ पाल्दै आएका छन्, व्यावसायिक दूध उत्पादनको अवधारणा अझै विकास हुन सकेका छैन, युवाहरु जति सबै खाडीमा छन्, यहाँ गाईभैँसी पाल्ने जनशक्ति पर्याप्त छैन,’ राईले भने ।

उत्पादित वस्तुहरुलाई सहज बिक्रीवितरणका लागि काठमाडौँका बजारहरु तथा अन्तरराष्ट्रिय बजारहरुसँग समेत समन्वय गरिरहेको राई बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर