प्रदेश सरकारको भागबन्डा टुंगो लगाउने तयारीमा सत्ता गठबन्धन

प्रदेश सरकारको नेतृत्व भागबन्डामा सत्तारुढ दलहरू सहमति नजिक पुगेका छन् । माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच सोमबार भएको भेटमा यसबारे कुराकानी भएको थियो ।

अब बस्ने सत्ता साझेदार दलहरूको बैठकले भागबन्डा टुंगो लगाउने तयारी छ । सोमबार पार्टीको बागमती प्रदेश कमिटीको बैठकमा प्रचण्डले प्रदेश सरकारबारे मङ्गलवार बेलुकासम्म टुङ्गिने बताएका छन् ।

स्रोतका अनुसार एमालेले कोशी, गण्डकी र कर्णाली, माओवादीले बागमती र लुम्बिनी, जसपाले मधेस प्रदेश पाउने सम्भावना छ । एक नेताका अनुसार कोशीमा एमालेले नेतृत्व गर्ने विषय टंगिसकेको छ ।

गण्डकीमा पनि एमाले–माओवादी गठबन्धनलाई सरकार बनाउन सहज छैन । कांग्रेस संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री सुरेन्द्र पाण्डे बहुमत जुटाउने प्रयासमा छन् ।

कर्णालीमा माओवादी संसदीय दलका नेता राजकुमार शर्मा मुख्यमन्त्री छन् । एमाले–माओवादी गठबन्धनसँग सहज बहुमत छ । माओवादीले शर्मालाई निरन्तरता दिन चाहे पनि यो पटक एमालेले लिने सहमति नजिक रहेको नेताहरू बताउँछन् ।

बागमतीमा माओवादी संसदीय दलका नेता सालिकराम जमरकट्टेल मुख्यमन्त्री छन् । एमालेको समर्थनका बाबजुद उनलाई बहुमत जुटाउन भने सहज छैन । सत्ता गठबन्धनमा भएको छलफलमा एमालेले बागमतीको मुख्यमन्त्रीमा दाबी छाडेको छैन । माओवादीका एक नेताले भने, ‘बागमती हामीले लिए एमालेले लुम्बिनी नछाड्ने संकेत गरेको छ ।’ ती नेताले एमालेले कर्णाली लिन चाहेकाले लुम्बिनीमा सहमति जुट्ने सम्भावना रहेको बताए ।

नागरिक उन्मुक्ति पार्टीलाई सुदूरपश्चिममा मुख्यमन्त्री दिएर भए पनि लुम्बिनीमा समर्थन जुटाउने दलहरूको तयारी छ । तर नागरिक उन्मुक्ति पार्टी आफैँमा विभाजित छ । त्यो पार्टी हाल सुदूरपश्चिम सरकारमा सहभागी छ । तर केन्द्रमा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको जोड बलमा प्रधानमन्त्री प्रचण्डलाई समर्थन गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर