आजदेखि एसइई, ५ लाख बढी विद्यार्थी परीक्षामा सहभागी हुँदै

आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षा विहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन हुनेछ ।

पहिलो दिन आज अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । एसइईलाई व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न परीक्षामा खटिने केन्द्राध्यक्षलगायत जनशक्तिलाई अभिमुखीकरण गरिएको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका दुई लाख ५० हजार ७७२ छात्रा, दुई लाख ५३ हजार ६२७ छात्र र अन्य १५ जना गरी कूल ५ लाख चार हजार ४१४ परीक्षार्थी सहभागी हुदै छन् ।

कूल परीक्षार्थीमध्ये ५०६ विद्यालयका १५ हजार ७४९ जना परीक्षार्थी प्राविधिक धारतर्फ रहेको बोर्डले जानकारी दिएको छ । त्यसैगरी परीक्षामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका १५ जना परीक्षार्थी सहभागी हुदै छन् ।

त्यस्तै परीक्षाका लागि दुई हजार ६४ परीक्षा केन्द्र निर्धारण गरिएको छ जसमा सबैभन्दा कम मनाङ, मुस्ताङमा एक-एक केन्द्र तथा सबैभन्दा बढी काठमाडौँमा १२७ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

परीक्षा सञ्चालनका लागि देशभरबाट ७७ हजार बढी जनशक्ति खटिएका छन् । ७७ हजार ४८५ जना जनशक्ति परिचालन भएको एसईई परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए ।

कक्षा ११ मा भर्ना हुन ३५ प्रतिशत अङ्क ल्याउनै पर्ने

यो वर्षदेखि विद्यार्थीले न्यूनतम ३५ प्रतिशत अङ्क ल्याउनै पर्ने व्यवस्था गरिएको छ । ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ यो वर्षदेखि कार्यान्वयनमा आएको विद्यार्थीले प्रत्येक विषयको सैद्धान्तिकमा ३५ प्रतिशत अङ्क ल्याउनै पर्ने बताए ।

विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत ल्याउनुपर्ने प्रावधान थियो । यो वर्ष पहिलो पटक निर्देशिका कार्यान्वयनमा ल्याएसँगै एसईई  परीक्षाको नतिजामा विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अङ्क ल्याउनै पर्ने भएको परीक्षा नियन्त्रक पौडेलले बताए ।

परीक्षार्थीले कम्तीमा सैद्धान्तिक विषयमा ३५ प्रतिशत र प्रयोगात्मकमा ४० प्रतिशत अङ्क ल्याउनै पर्ने उनको भनाइ छ । १०० पूर्णाङ्क रहेको विषयमा ३५ र ७५ पूर्णाङ्क रहेको विषयमा २७ अङ्क ल्याउनुपर्ने बताए ।  ३५ प्रतिशतभन्दा कम अङ्क ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने र पुनः मौका परीक्षामा सहभागी हुनुपर्ने प्रावधान रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर