भयावह बन्दै सडक दुर्घटना, पाँच वर्षमा ११ हजारभन्दा बढीको मृत्यु

गत फागुन २३ मा बिहान ४.४० बजे सुलोचना सापकोटा पाठक गहिरो निद्रामा थिइन् । उनको साथमा १० वर्षको छोरा थियो । एकबिहानै उनलाई देवरले फोन गरे । लुम्बिनीबाट काठमाडौँ आउँदै गरेको बस धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीस्थित पृथ्वी राजमार्गमा दुर्घटनाको खबर सुनेसँगै देवरले बुटवलबाट काठमाडौँ आउँदै गरेका आफ्ना दाई प्रकाश पाठकको खबर सोध्न फोन गरेका थिए ।

मध्यरातको २ बजे श्रीमानसँग फोन सम्पर्क गरेर सुतेकी सुलोचना देवरको फोनसँगै आत्तिइन् । श्रीमानलाई पटकपटक फोन सम्पर्क गर्न खोजिन्, तर फोन लागेन । उनका आफन्त गजुरी पुगे । सो बस दुर्घटना हुँदा प्रकाशसहित १२ जनाको ज्यान गयो । स्थानीय, आफन्तजन र प्रहरीको अथक प्रयासमा प्रकाशको शव दुर्घटना भएको ३६ घण्टापछि मात्र भेटिएको थियो ।

त्यो ३६ घण्टा सुलोचनाका लागि ज्यादै पीडादायी बन्यो । ‘प्रकाशको शवमा कुनै चोट लागेको थिएन, समयमा नै भेटिएको भए बचाउन सकिन्थ्यो भन्ने लाग्छ, छोराले बाबा कहिल्यै नआउने हो भनेर बेलाबेलामा सोधिरहन्छ,’ सुलोचना भन्छिन् । नेपालको ट्रेड युनियन आन्दोलनमा सक्रिय प्रकाश नेपालमा उत्पादित खाद्यान्न र तरकारीलाई विदेशसम्म लैजाने योजनाका साथ अगाडि बढेका थिए ।

लुम्बिनीबाट चालक दलका सदस्यसहित ५४ यात्रु बोकेर काठमाडौँ आएको लु२ख २१२१ नम्बरको बस सडकबाट अन्दाजी १०० मिटर तल त्रिशूली नदीमा खस्दा १२ जनाले ज्यान गुमाएका छन् भने ४२ जना घाइते भएका छन् ।

उक्त दुर्घटना सडकको दुरावस्थाका कारण भएको प्रहरीले निस्कर्ष निकालेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख, प्रहरी उपरीक्षक गौतमकुमार केसी सडकको जीर्ण अवस्थाका कारण गजुरीमा दुर्घटना भएको बताउँछन् । ‘एकातिर जीर्ण सडक र अर्कातिर क्षमताभन्दा धेरै यात्रु भएको कारण खाल्डोमा गएर बसको टायर ठोकिएको र उफ्रेर अगाडि बढ्न खोज्दा बस पल्टन गएको अनुसन्धानमा देखिएको छ,’ उनी भन्छन् ।

यस्तै गत चैत ५ मा सोमबार रुकुम पश्चिमबाट मध्यपहाडी राजमार्ग हुँदै काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस बागलुङमा दुर्घटना हुँदा रुकुमका पत्रकार विक्रम परियारसहित नौ जनाको मृत्यु भयो । बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा बस दुर्घटना भएको थियो । बस सडकबाट अन्दाजी एक सय ५० मिटर तल खस्दा भएको दुर्घटनामा परेर २८ जना घाइते भएका छन् । घाइतेको हाल बाग्लुङ, पोखरा र काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

गत पुस २७ मा बाँकेको नेपालगञ्जबाट काठमाडौँ आउँदै भे१ख ३९१२ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा १२ जनाको ज्यान गयो । राति १० बजेको समयमा दाङ देउखुरीको राप्ती गाउँपालिका–१ भालुवाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा ती व्यक्तिहरूले ज्यान गुमाएका थिए । सोही दुर्घटनामा परेर १७ जना घाइते भएका छन् ।

यसैगरी गत पुस २८ मो काठमाडौँको चन्द्रागिरि नगरपालिका–४ पानीघाट नजिक हिमचुली सेतो पहरानजिक कार दुर्घटना हुँदा एकै परिवारका पाँच जनाले ज्यान गुमाए । प्रदेश ३–०१–२३ च ६९८५ नम्बरको कार दुर्घटना हुँदा काठमाडौँको लाजिम्पाट बस्ने वरिष्ठ चिकित्सक महेशकुमार गौतम, उहाँका ससुरा ओमकारनिधि तिवारी, सासू कल्पना तिवारी, छोरा प्रियान्स र छोरी स्मारिकाको ज्यान गयो । उक्त दुर्घटना बाटोको दुरवस्थाका कारण भएको काठमाडौँ प्रहरीले जनाएको छ ।

माथि उल्लेखित दुर्घटना केवल प्रतिनिधिमूलक घटनामात्र हुन् । नेपालमा सवारी दुर्घटनाका कारण वार्षिक हजारौँ व्यक्तिले अकालमा ज्यान गुमाउँदै आएका छन् भने हजारौँ व्यक्तिहरु अङ्गभङ्ग तथा घाइते हुने गरेका छन् । सडक दुर्घटनाबाट गत पाँच वर्षमा ११ हजार तीन सय पाँच जनाले अकालमा ज्यान गुमाएका छन् भने २७ हजार सात सय २६ व्यक्ति गम्भीर घाइते भएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म दुर्घटनाका कारण नेपालमा एक हजार तीन सय तीन जनाले अकालमा ज्यान गुमाएका छन् । यसमध्ये सबैभन्दा धेरै मधेस प्रदेशमा रहेको छ । मधेस प्रदेशमा मात्र साउनदेखि माघ मसान्तसम्म दुई सय ९० जनाले ज्यान गुमाएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाल बताउँछन ।

सवारी दुर्घटनाबाट देशभर हजारौँ व्यक्तिले अकालमा ज्यान गुमाउँदा काठमाडौँ उपत्यकामा मात्र एक सय १७ जनाले ज्यान गुमाएका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले दिएको जानकारीअनुसार चालु आवको साउनदेखि फागुन मसान्तसम्म काठमाडौँ, भक्तपुर र ललितपुरमा भएका विभिन्न दुर्घटनामा परेर एक सय १७ जनाले अकालमा ज्यान गुमाएका हुन् ।

कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठ उपत्यकामा चालकको लापरवाहीका कारण बढी दुर्घटना हुने गरेको बताउँछन् । ‘साँघुरो सडकमा चालकले लापरवाही गरेर सवारीसाधन चलाउँदा बढी दुर्घटना हुने गरेको देखिन्छ,’ उनी भन्छन् ।

कार्यालयका अनुसार चालु आवमा चालकको लापरवाहीबाट चार हजार तीन सय ४५, तीव्रगतिका कारण एक हजार नौ सय ४८, मादक पदार्थ सेवनका कारण चार सय ७५, यान्त्रिक गडबढीका कारण ६४, ओभरटेकका कारण ७६, सडकको अवस्थाका कारण १३ र अन्य कारण ९७ दुर्घटना भएका छन् ।

सडक सञ्जाल थपिएसँगै नेपालमा पछिल्लो समय सवारी दुर्घटनासमेत बढ्दै गएको छ । सवारी दुर्घटना र यातायात क्षेत्रलाई व्यवस्थित बनाउनका लागि सरकारले नेपाल सरकारका पूर्वसचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा ‘यातायात सुधार सुझाव कार्यदल’ गठन गरेको थियो ।

उक्त कार्यदलले एक वर्ष लगाएर यातायात क्षेत्रको सुधारका लागि अध्ययन गरेर गत माघमा सरकारसमक्ष प्रतिवेदनसमेत बुझाइसकेको छ । उक्त प्रतिवेदनले सडक दुर्घटनाका प्रमुख कारण पाँचवटा रहेको बताएको छ । सडक दुर्घटनाका कारणमा मानवीय कारण, सवारीसाधनको अवस्था, सडकको अवस्था, सडक प्रयोगकर्ता र मौसमको कारण रहेको बताइएको छ ।

नेपालमा हुने सवारी दुर्घटनाका कारणमध्ये सवारी चालकको कारण ८८ दशमलव ३५ प्रतिशत दुर्घटना हुने गरेको छ । यस्तै सवारीसाधनको कारण दुई दशमलव ५९ प्रतिशत, यात्रुको कारण चार दशमलव २० प्रतिशत, सडकको अवस्थाका कारण चार दशमलव १२ प्रतिशत र मौसमका कारण शून्य दशमलव ७४ प्रतिशत दुर्घटना हुने गरेको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला सवारी चालकको शारिरीक र मानसिक अवस्था, ट्राफिक नियमको पालना गर्ने प्रवृत्ति र चालकको दक्षता र सीप दुर्घटनासँग प्रत्यक्ष सम्बन्धित रहने बताउँछन् । ‘दक्ष र सीपालु चालक अनुशासित भएर सवारी चलाउँदा दुर्घटनामा कमी आउँछ,’ उनी भन्छन् ।

यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरु दुर्घटना न्यूनीकरणका लागि सरकारले पूर्वसचिव धनबहादुर तामाङको संयोजकत्वमा ‘सडक दुर्घटना अध्ययन कार्यदल’ गठन गरेर अध्ययन गरिरहेको बताउँछन् ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको मन्त्रीस्तरीय निर्णयबाट गत पुस २९ गते गठन भएको उक्त कार्यदलमा सडक विभाग, यातायात व्यवस्था विभाग, नेपाल प्रहरीलगायत सरोकारवाला निकाय सदस्य छन् । उक्त कार्यदलले विगत एक–दुई महिनाभित्र नेपालका विभिन्न भागमा भएका दुर्घटनालाई विस्तृत अध्ययन गरेर अध्ययनको प्रतिवेदन र दुर्घटना न्यूनीकरणका लागि आवश्यक सुझाव सरकारलाई बुझाउनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर