बर्जु गाउँपालिकाका आगलागी पीडितको त्रास : बर्खा लागिसक्यो, अस्थायी टहरामा कहिलेसम्म बस्नुपर्ने हो

सुनसरीको बर्जु गाउँपालिका–४ जयनगर टोलका आगलागी पीडित वर्षाको समय आइसक्दा पनि घरबार नहुँदा चिन्तित बनेका छन् ।

लत्ताकपडा र अन्नबालीसँगै घर गुमाएका २७ परिवारहरु स्थायी बसोवासका लागि घर बनाइदिन सरकारसँग हारगुहार गरिरहेका छन् । गत चैत ४ गते भएको आगलागीबाट जयनगर टोलका २७ घर जलेर नष्ट भएका थिए । स्थानीय विसुनदेव पौदारको घरबाट सल्किएको आगोले बाँस र फुसले बनाएका घर जल्दा स्थानीयको अन्न, कपडालगायत धनमाल जलेर नष्ट भएको थियो भने केही चौपायाहरू पनि मरेका थिए । आगलागीको दुई साता बितिसक्दा पनि पीडित परिवार अस्थायी टहरामा बस्न बाध्य छन् । अस्थायी रूपमा विभिन्न संघ–संस्थाले टहराको निर्माण गरिदिएको भए पनि आफूहरूलाई स्थायी रूपमा बसोवासको व्यवस्था मिलाइदिन अग्निपीडितको आग्रह छ ।

आउँदो वर्षाको समयलाई लिएर चिन्तित बनेका अग्निपीडितले आफूहरूको पुनःवास र जीवन रक्षाको सवालमा हातेमालो गरिदिन अनुरोध गरेका छन् । आगलागीबाट घरवास गुमाएका परिवारलाई गैर आवासीय नेपाली संघ (एनआरएनए) तथा ताइवानी संस्था (चुजी फाउण्डेसन) ले टेन्ट र जस्तापाता लगाएर अस्थायी टहराको निर्माण गरिदिएको छ । तथापि स्थायी बसोवास अहिले अपरिहार्य भएको उनीहरुको भनाइ छ । गाउँपालिकाले प्यानलकै भएपनि घर बनाउने योजना बनाएको छ ।

आगलागी प्रभावितको अवस्थाबारे बुझ्न पुग्नुभएकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले दातृ संस्थासँगको सहकार्यमा पुनःवासका लागि आवश्यक घर तथा विद्यालय निर्माण गरिदिने घोषणा गरेका छन् । उनले सब संघसंस्थाहरुले मिलेर काम गर्ने हो भने एक महिना भित्रमा स्थायी बसोवासको व्यवस्था गर्नसक्ने बताए । उनले क्षतिको पूर्ण विवरण संकलन गरेर संघ सरकारमा पठाउन आग्रह गरे ।

हाल अस्थायी टहरामा बस्दै आएका आगलागी पीडित आउँदो वर्षा यामबाट भने त्रासमा छन् । बर्खामा निम्तिने विपद्बाट आफूहरूलाई जोगाइदिन उनीहरूको आग्रह छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर