सुदूरपश्चिमका मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने, यस्तो छ सत्ताको अंकगणित

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार विश्वासको मत लिने भएका छन् । केन्द्रमा नयाँ सत्ता समीकरणपछि सत्ता साझेदार दल माओवादी र एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिन लागेका हुन् ।

कांग्रेसबाट मुख्यमन्त्री बनेका शाहले नागरिक उन्मुक्ति, राप्रपा र स्वतन्त्र सांसदको मत पाउने अपेक्षा गरेका छन् । यसैका लागि उनले उन्मुक्तिका ५ जना सांसदलाई मन्त्री बनाइसकेका छन् । तर, सरकारमा सहभागी भएको विषयमा भने नागरिक उन्मुक्तिमा दुई धार देखिएको छ ।

पार्टी संरक्षक रेशम चौधरीले मुख्यमन्त्री शाहलाई समर्थन गर्दा केन्द्रमा भने पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले नयाँ सत्ता गठबन्धनलाई समर्थन गरेकी छन् । श्रेष्ठले सुदूरपश्चिममा पनि आफ्ना पार्टीका सांसदलाई मन्त्रिपरिषद्बाट फिर्ता हुन निर्देशन दिएकी छन् ।

५३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि २७ सांसद चाहिन्छ । सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १८, नागरिक उन्मुक्तिका ७, राप्रपाको १ र स्वतन्त्र १ सांसद छन् । उनीहर सबै मिले मात्र शाहलाई विश्वासको मत मिल्नेछ ।

केन्द्रको गठबन्धनमा रहेका माओवादीका १० (सभामुख बाहेक), एमालेका १० र एकीकृत समाजवादीका ४ सांसद छन् । सरकारका लागि नागरिक उन्मुक्ति निर्णायक देखिएको छ । त्यसैले सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्षस्थ नेताहरुको बैठकले नागरिक उन्मुक्ति र एकीकृत समाजवादीलाई आलोपालो मुख्यमन्त्री दिने सहमति गरेका छन् । तर, नागरिक उन्मुक्तिभित्रैको विवादले सुदूरपश्चिमको सरकार गठनमा अस्थिरता देखिने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर