वाइडबडी खरिदमा भ्रष्टाचार भएको अख्तियारको ठहर, यी हाइप्रोफाइलविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमका लागि दुईवटा वाइडबडी विमान खरिदको क्रममा भ्रष्टाचार भएको ठहर गरेको छ । वाइडबडी खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको अख्तियारले दाबी गरेको हो ।

अख्तियारले उक्त विमान खरिद प्रकरणमा भ्रष्टाचार गरेको आरोपमा पूर्व पर्यटनमन्त्री जीवनबहादुर शाहीसहित हाइप्रोफाइल ३२ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । शाही हाल कर्णाली कांग्रेस संसदीय दलका नेता छन् ।

अख्तियारले शाहीसहित वायुसेवा निगमका पूर्व महाप्रबन्धक सुगत कंसाकार, पूर्वपर्यटन सचिव शंकर अधिकारी, शिशिर ढुंगाना, बुद्धिसागर लामिछाने, टेकनाथ आचार्य, निमानुरु शेर्पा, मुक्तिराम पाण्डे, जीवन सिटौला, अच्यूतराज पहाडीलगायत लगायत व्यक्तिहरुलाई प्रतिवादी बनाएको छ ।

निगमले अमेरिकाको एएआर इन्टरनेशनल, जर्मन एभिएसन क्यापिटल र हाइफ्लाई एरोज पोर्चुगल कम्पनीले स्थापना गरेको हाइफ्लाई एक्स नामको कम्पनीबाट विमान खरिद गरेको थियो ।

विमान खरिदका लागि निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट करिब २४ अर्ब रुपैयाँ ऋण लिएको थियो । उक्त रकमबाट निगमले २०७५ असार १४ र २०७५ साउन १० मा विमान खरिद गरेर नेपाल ल्याइएको थियो ।
सम्झौताभन्दा फरक खातामा रकम भुक्तानी, अपारदर्शी कारोबार, उडान भर्दाको अधिकतम तौल, मूल्यवृद्धिको अनुपात, गलत लागत अनुमान तयार गरिएको, विमानको क्षमता घटाइएको लगायत कारणले भ्रष्टाचार भएको अख्तियारको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *