पाकिस्तानी सिनेटको अध्यक्षमा पूर्वप्रधानमन्त्री गिलानी निर्वाचित

पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफ रजा गिलानी त्यहाँको संसद्को माथिल्लो सदन (सिनेट) को अध्यक्षमा निर्वाचित भएको निर्वाचनको अध्यक्ष रहेका सिनेटर इशाक डारले घोषणा गरेका छन् ।

पाकिस्तानका विदेशमन्त्रीसमेत रहेका डारले सिनेटको अध्यक्षका लागि गिलानीबाहेक कसैले पनि उम्मेदवारी नदिएपछि उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।

पाकिस्तान पिपुल्स पार्टीको तर्फबाट निर्वाचित सांसद गिलानीले सन् २००८ देखि २०१२ सम्म प्रधानमन्त्रीकोरूपमा जिम्मेवारी सम्हालेका थिए ।

त्यसैगरी, सत्तारुढ पाकिस्तान मुस्लिम लिग–नवाजका सैयदल खान नासिर पनि पाकिस्तानी सिनेटको उपाध्यक्षमा निर्विरोध निर्वाचित भएको जनाइएको छ ।

यसै महिनाको सुरुमा पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण र सिनेटका अध्यक्ष र उपाध्यक्षको निर्वाचनका लागि मङ्गलबार संसद्को उद्घाटन सत्रको बैठक बोलाएका थिए । सन् २०२४ अप्रिल २ मा भएको निर्वाचनपछि सिनेटको यो पहिलो अधिवेशन हो ।

पाकिस्तानको निर्वाचन आयोगले उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा सिनेटको चुनाव स्थगित गरेपछि पूर्व प्रधानमन्त्री इमरान खानको विपक्षी दल पाकिस्तान तेहरिक–ए–इन्साफका सांसदहरूले निर्वाचनको विरोध गरेका थिए ।

यसैबीच, अध्यक्ष पदको शपथ लिएपछि गिलानीले सिनेटरहरूले एकता प्रस्तुत गरेको र सिनेटले राष्ट्रको विविधता र शक्तिको प्रतिनिधित्व गरेको बताए ।

उनले देशको प्रगतिका लागि पुल निर्माण गर्न, संवादलाई सक्षम बनाउन र संसदीय मान्यताभित्र रहेर असहमतिका लागि स्थान प्रदान गर्न सक्रिय भूमिका निर्वाह गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर