देउवा–नेपाल भेट : सुदूरपश्चिमको मुख्यमन्त्रीमा एसलाई कांग्रेसले समर्थन गर्ने

कांग्रेसले सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीलाई समर्थन गर्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र एसका अध्यक्ष माधवकुमार नेपालबीच बुधबार भएको भेटमा एसलाई सघाउन कांग्रेसले प्रतिबद्धता जनाएको हो ।

एसले सुदूरपश्चिमको मुख्यमन्त्रीमा आफ्नो प्रदेश संसदीय दलका नेता दीर्घ सोडारीलाई अघि सार्ने निर्णय गरिसकेको छ । तर, एमालेले सोडारीलाई समर्थन गर्न आनाकानी गरेको छ ।

सत्ता गठबन्धनले एसलाई सुदूरपश्चिमको नेतृत्व दिने सहमति गरे पनि एमालेले सोडारीलाई समर्थन गर्न भने आलटाल गरेको हो । यसअघि केन्द्रको सहमतिविपरीत नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न समर्थन गरेको भन्दै सोडारीसँग एमाले असन्तुष्ट बनेको छ ।

एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले केन्द्रको निर्देशन नआएसम्म एसलाई समर्थन नगर्ने बताए । सुदूरपश्चिममा मु्ख्यमन्त्रीमा दाबी पेस गर्न आज साँझ ५ बजेसम्मको समय तोकिएको छ ।

एमालेको समर्थन नभएको खण्डमा एसलाई कांग्रेसले सघाउने प्रस्ताव देउवाले गरेका हुन् । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा हाल ५२ जना सांसद छन् । कांग्रेसका १८, एमालेका १० र सभामुखबाहेक माओवादीका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४ र एक जना स्वतन्त्र सांसद छन् । सरकार गठनका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *