फास्ट ट्रयाक तोकिएकै समयमा बन्छ, लागत बढेको छैन : प्रधानसेनापति

प्रधानसेनापति प्रभुराम शर्माले काठमाडौं-तराई/मधेस द्रुतमार्गको लागत हालसम्म नबढेको बताएका छन् । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रधान सेनापति शर्माले काठमाडौं-तराई/मधेस द्रुतमार्ग तोकिएकै समयमा निर्माण सम्पन्न हुने बताएका हुन् ।

उनले अहिले सेनाले पुल र टनेल निर्माणको कार्यलाई प्राथमिकताका साथ अगाडी बढाइरहेको बताए । फास्ट ट्रयाक निर्माण सम्पन्न नहुँदा लागत बढिरहेको भन्ने प्रचारमा सत्यता नभएको बताउँदै उनले हालसम्म निर्धारित बजेट भित्रैबाट काम भइरहेको भन्दै कुनै पनि लागत नबढेको बताए । उनले तोकिएकै बजेट भित्र रहेको र तोकिएकै समयभित्र रहेको भन्दै निर्धारित समयमै काम सम्पन्न गर्न नेपाली सेना ढुक्क रहेको बताए ।

उनले भने- ‘नसक्ने भए म सक्दिनँ भनिदिन्थेँ । मलाई केही छैन । तर एकदम सिँगारेर, फास्ट ट्रयाक भनेर युरोपको सडकजस्तो नगरेपनि हजुरहरुलाई खोकनाबाट गाडी चढाएर पूर्वपश्चिम राजमार्गसम्म पुर्याउन पाएँ भने हजुरहरुले मलाई माला लगाइदिनु हुन्छ, त्यत्ति हो मैले बोलेको । त्यसै भएर पुल र टनेललाई विशेष महत्व दिएको हो । अन्य खन्ने बाटो त राती पनि खनेर सकिदिउँला । केही फरक पर्दैन । प्राविधिक रुपमा भित्तो कोपर्ने र पुल त बनाउनै पर्छ । त्यसमा जोड दिइएको कारण यहीँ हो । अहिलेसम्म बजेट भित्रै काम गर्न हामी सफल भएका छौँ । लागत बढेको छैन । कुनैपनि पैसा बढेको छैन । समय पनि तोकेको समयभित्रै छौं । ठुलो आयोजनाको कामको समय कुलो बनाएको जस्तो, एउटा पुल बनाएको जस्तो हुँदैन । त्यसले अलिकति समय लिन्छ ।’

प्रधान सेनापति शर्माले काठमाडौं-तराई/मधेस द्रुतमार्गको हालसम्मको भौतिक प्रगति ३३.२ प्रतिशत रहेको बताए । उनले आयोजनाको वित्तीय प्रगति भने ३३ प्रतिशत पुगेको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर