राजनीतिमा पूर्वराष्ट्रपति भण्डारीको पुनरागमन कि व्यवस्थापन ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रिय सम्मान लिएर बस्न सुझाव दिएको नौ महिनापछि पार्टीले ‘गणतन्त्र गौरव’ पदकबाट सम्मान गर्ने भएको छ। एमालेले पार्टी स्थापनाको हीरक महोत्सवमा सोमबार पूर्वराष्ट्रपति एवं पार्टी पूर्वउपाध्यक्ष भण्डारीलाई सम्मान गर्ने निर्णय गरेको हो।

२०७९ फागुनमा राष्ट्रपतिबाट बिदा भएकी भण्डारी फेरि सक्रिय राजनीतिमा आउन सक्ने चर्चा चलिरहेका बेला एमाले अध्यक्ष ओलीले गत साउनको अन्तिम साता एउटा कार्यक्रममा राष्ट्रिय सम्मान लिएर बस्नु उपयुक्त हुने अभिव्यक्ति दिएका थिए। भण्डारीलाई फेरि एमाले राजनीतिमा ल्याएर अध्यक्ष बनाउनुपर्ने भन्दै ‘लबिइङ’ गरिरहेका केही नेता ओलीको तारोसमेत बनेका थिए।

ललितपुरको गोदावरीमा पार्टी महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान गर्ने प्रस्ताव प्रस्तुत गरिएको थियो। यसबाट उनलाई राजनीतिमा तान्न खोजिएको हो वा व्यवस्थापन गर्न सहज होस् भनेर ‘गणतन्त्र गौरव’ पदक दिन लागिएको हो भन्ने कौतूहलता उब्जेको छ।

पूर्वराष्ट्रपति भण्डारीलाई गणतन्त्र गौरव पदकबाट सम्मान गर्ने प्रस्ताव प्रतिनिधि परिषद् बैठकले अनुमोदन गरेको छ। परिषद्को आइतबारको बैठकमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकको लोकतान्त्रिक आन्दोलनमा, कम्युनिस्ट आन्दोलनमा योगदान पुर्‍याएका र राष्ट्रिय स्वाभिमान रक्षाका खातिर अडान लिएका व्यक्तिहरूलाई सम्मान गर्ने घोषित योजनाअनुसार पार्टी स्थापना दिवसका अवसरमा पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान गर्न लागेको प्रस्ताव प्रस्तुत गरेका थिए। एमालेले सोमबार पार्टी स्थापनाको ७५औं वर्षगाँठ मनाउँदैछ। यही अवसरमा पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीका तर्फबाट गणतन्त्र गौरव पदक प्रदान गर्न लागिएको हो।

भण्डारीलाई एमाले जनवर्गीय संगठनले आयोजना गर्ने कार्यक्रममा प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिसकेको छ। गत साता जनसंगठन समन्वय संयन्त्रको बैठकले जेठ १६ र १७ गते जनसंगठनहरूको महिला राष्ट्रिय भेला गर्ने र पूर्वराष्ट्रपति भण्डारीलाई प्रमुख अतिथि बनाउने निर्णय गरेको हो। यसले पूर्वराष्ट्रपति भण्डारीको पार्टी राजनीतिमा पुनरागमनको संकेत गर्छ।

एमालेभित्रका केही नेताले वामपन्थी पार्टीहरूबीच एकताका लागि सहज हुने भएकाले भण्डारीलाई पार्टी अध्यक्ष बनाउनुपर्छ भनेर पनि लबिइङ गरिरहेका छन्। गत वर्ष भण्डारीले आफ्नै निवासमा केही पत्रकारहरूसँगको भेटमा पार्टीभित्र समस्या आए आफू टाढाबाट टुलुटुलु हेरेर नबस्ने बताएकी थिइन्।

शीतलनिवासबाट बिदा हुँदा उनल सरकारी सेवासुविधासमेत नलिने बताएकी थिइन्। सुरक्षामा नेपाली सेना खटिए पनि उनले अन्य सरकारी सेवासुविधा फिर्ता गरिसकेकी छिन्। उनले सरकारले दिएको गाडी २०७९ फागुन २९ मै फिर्ता गरेकी थिइन्।

शीतलनिवासबाट बिदा भएपछि उनी आफ्नै निवासमा एमाले नेता तथा कार्यकर्तासँग निरन्तर संवादमा छन्। यसै विषयलाई लिएर गत साउनमा २८ मा अध्यक्ष ओलीले ‘भेट्नु ठुलो कुरा होइन तर राजनीतिमा कसैले निम्तो दिनुहुन्न’ भनेर टिप्पणी गरेका थिए। अहिले उनै ओलीको चाहनामा भण्डारीलाई पार्टीका तर्फबाट गणतन्त्र गौरव पदले सम्मान गर्न लागिएको हो।

बलियो शक्ति बन्ने संकल्प

एमालेले देशभरका अगुवा नेता–कार्यकर्ताहरूको भेलाबाट मिसन ८४ सफल पार्ने संकल्प गरेको छ। पार्टीको शनिबार र आइतबार ललितपुरको गोदावरीमा बसेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकले आउँदो तीन वर्षमा बलियो राष्ट्रिय शक्ति बन्ने संकल्प पास गरेको हो। यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *