उपनिर्वाचनका लागि मतदान स्थलतर्फ लागे कर्मचारी

बझाङमा उपनिर्वाचनका लागि कर्मचारी मतदान स्थलतर्फ लागेका छन् । कर्मचारीलाई नियुक्ति पत्र र मतदान सामग्री बुझाएर मतदान स्थलतर्फ खटाइएको छ ।

मतदानका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, मतदान कर्मचारी र सहायक कर्मचारीले नियुक्तिपत्रसँगै निर्वाचन खर्च र सामग्री बुझाएर सुरक्षाकर्मीसहित मतदान केन्द्र र मतदान स्थलमा पठाएको हो ।

आगामी वैशाख १५ गते बझाङमा हुने प्रदेशसभाको उपनिर्वाचनका लागि १२ सयको संख्यामा प्रहरी परिचालन गरिएको छ ।

निर्वाचन लक्षित सुरक्षा योजना तयार गरी उक्त संख्यामा प्रहरी परिचालन गरिएको बझाङ प्रशासनले जनाएको छ । निर्वाचनमा नेपाल प्रहरी र सशस्त्र प्रहरी गरेर सो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको हो । म्यादी प्रहरीको प्रयोग नहुने भएकोले दुई सङ्गठनका प्रहरी निर्वाचनमा प्रयोग हुने बताइएको छ ।

बझाङ जिल्ला भरमा ९३ मतदान केन्द्र र ७४ मतदान स्थल रहेका छन् । जिल्ला निर्वाचन कार्यालयले मतदान केन्द्रमा खटिने कर्मचारीहरूलाई मतदान केन्द्रमा खटाएर आज नै प्रहरीहरू समेत परिचालन गरिएको जनाइएको छ । जिल्ला निर्वाचन कार्यालयले भने आज कर्मचारीहरूलाई सम्बन्धित मतदान केन्द्रमा खटाएको छ ।

जिल्ला निर्वाचन कार्यालय बझाङका अनुसार सोमबार नै साइपाल गाउँपालिकाअन्तर्गतका ५ वटा मतदान केन्द्रमा खटिने मतदान अधिकृतसहित कर्मचारी र सुरक्षाकर्मी पठाई सकिएको भए पनि अन्य पालिकाका लागि आज अधिकृतसहित कर्मचारी र सुरक्षाकर्मी पठाइएको छ । आयोगका अनुसार प्रत्येक मतदान केन्द्रमा सातजना कर्मचारी रहने गरी कर्मचारीको प्रबन्ध मिलाएको छ ।

मतदान केन्द्र अनुसार बझाङमा ६५१ जनशक्ति परिचालन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रत्येक केन्द्रमा एक-एक जना मतदान अधिकृत र सहायक मतदान अधिकृत तथा पाँचजना सहयोगी कर्मचारी खटाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *