ओली  र रविको चुनाव लड्ने प्रस्ताव अस्वीकार गरे : डा. स्वर्णिम वाग्ले

अर्थविद् डा. स्वर्णिम वाग्लेले नेकपा एमालेले आफूलाई पार्टीबाट मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दिन आग्रह गरेको खुलाएका छन् ।

अर्थविद् वाग्लेले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रतिनिधि सभामा चुनाव लड्न आग्रह गरेको बताए । शनिवार काठमाडौंमा आयोजित युवासँग छलफल कार्यक्रममा उनले नेकपा एमालेसहित रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समेत आफूलाई चुनाव लड्न आग्रह गरेको बताए ।

उनले कुनै पार्टीले पार्टीबाट टिकट दिएन भन्दैमा आफू सक्रिय रहेको पार्टीलाई त्यागेर अर्को पार्टीबाट चुनाव लड्नु राजनीतिक परिपक्कता नभएको कारण आफू आगामी ५ वर्षसम्म युवामाझ सक्रिय रहने बताए । उनले युवाहरुसँग घुलमिल हुने कार्यक्रम आफूले शनिवारबाट काठमाडौं क्षेत्र नम्बर ४ बाट शुरु गरेको भन्दै यो कार्यक्रम देशभर नै आयोजना गर्ने आफ्नो योजना रहेको बताए । उनले नेपाली काँग्रेसबाट प्रतिनिधि सभा सदस्यको टिकटको आकांक्षी भएपनि टिकट नपाएपछि अबको ५ वर्ष मतदाता र युवामाझ आफ्नो सक्रियता बढाउन प्रयोग गर्ने बताए ।

‘स्वतन्त्र भएर चुनाव लड्नुपर्छ भनेर पनि दबाब नआएको होइन, तर मैले के डिसाइड गरेँ भन्दा, हामी बहुदलीय व्यवस्थामा छाँै, धेरै कुराहरु सीमा, बन्धन, नियममा रहनुपर्छ । अहिले म यही फ्रेमवर्क भित्र नै सक्रिय हुन्छु । तत्कालमा जनमत बनाउने, युवाहरुसँग भेटघाट गर्ने, नयाँ मतदातासँग घुलमिल हुने, आजका दिन काठमाडौं ४ बाट शुरु गरेर देशव्यापी रुपमा छलफल म लैजान्छु । निर्वाचनसम्म माहोल बनाउने र त्यसपछि आफू सक्रिय हुने गरेर अर्को ५ वर्ष बिताउनेछु ।’

अर्थविद् वाग्लेले आफ्नो तीन पुस्तासमेत नेपाली काँग्रेस भएकाले अन्य पार्टीमा गएर चुनाव लड्न सहज नदेखिएको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *