नालन्दा : एउटा विश्वविद्यालय, जसले विश्वमा परिवर्तन ल्यायो

जाडोको बिहान घना कुहिरोमा लपेटिएको थियो । हाम्रो कारले घोडाले तान्ने टाँगालाई उछिन्यो । टाँगा एक प्रकारको सवारीसाधन, जुन अहिले पनि पूर्वी भारतीय राज्यको बिहारमा लोकप्रिय छ ।

बोधगया, जहाँ भगवान् बुद्धले ज्ञान प्राप्त गरेका थिए, त्यस सहरमा एक दिन बिताएपछि म नालन्दाका लागि निक्लिएँ । नालन्दा, जहाँ अझै पनि राता इँटाका खण्डहर छन्, जो प्राचीन विश्वमा शिक्षाको सबैभन्दा ठूलो केन्द्र थियो ।

इसाको ४५७ सालमा स्थापित नालन्दा विश्वको पहिलो आवासीय विश्वविद्यालय मानिन्छ । यहाँ ९० लाख पुस्तक थियो भने पूर्वी र मध्य एसियाका १० हजार छात्रहरु पढ्थे । विश्वविद्यालयमा चिकित्सा, तर्कशास्त्र, गणित र सबैभन्दा बढी बौद्ध सिद्धान्तलाई त्यस बेलाका प्रतिष्ठित विद्वान्बाट सिक्ने मौका मिल्थ्यो । दलाई लामाले पनि एकपटक भनेका थिए, ‘हाम्रो ज्ञानको स्रोत नालन्दा हो ।’

सातभन्दा बढी शताब्दीसम्म नालन्दाको वर्चस्व रह्यो । विश्वमा यो जस्तो विश्वविद्यालय अरु कुनै थिएन । यो विश्वविद्यालय अक्सफोर्ड युरोपको पुरानो विश्वविद्यालय बोलोग्नाभन्दा धेरै अघिको हो । यसले दर्शन र धर्ममा आफ्नो प्रबुद्ध चिन्तनबाट एसियाको संस्कृतिलाई आकार दिन ठूलो मद्दत गरेको छ ।

आश्चर्यलाग्दो कुरा, यो विश्वविद्यालय स्थापना गुप्त साम्राज्यका शासकले गरेका थिए, जो आफू भने हिन्दू थिए । तर, त्यस बेला बौद्ध धर्म तथा दर्शनप्रतिको बढ्दो आकर्षणलाई सबैले स्वीकारेका थिए । यही कारणले नालन्दाले पनि बहु–विषयक शैक्षिक पाठ्यक्रमलाई अँगालेको थियो ।

प्राचीन चिकित्सा प्रणाली आयुर्वेद यही विश्वविद्यालयबाट भारत लगायत अन्य क्षेत्रमा फैलिएको थियो । वास्तु तथा अन्य कला यहीँबाट सिकेर तिब्बत, मलायली प्रायद्वीप, थाइल्यान्डसम्ममा पुगेको पाइन्छ । यसभन्दा धेरै नालन्दालाई गणित र खगोल विज्ञानबाट उपलब्धि प्राप्त भयो ।

आर्यभट्ट, जो भारतीय गणितका जनक मानिन्छन्, उनी छैटौं शताब्दीमा उक्त विश्वविद्यालयका नेतृत्वकर्ता थिए भन्ने अनुमान लगाइन्छ । कोलकाताका गणित प्रोफेसर अनुराधा मित्र भन्छिन्, ‘हामी मान्छौं कि आर्यभट्ट ती पहिला व्यक्ति जसले शून्यलाई एक अंकको रुपमा आविष्कार गरेका थिए । जसले गणितलाई अझ सरल बनायो ।’

विश्वविद्यालयले बौद्ध शिक्षा र दर्शनको प्रचारका लागि आफ्नो केही सर्वश्रेष्ठ विद्वान्लाई चीन, कोरिया, जापान, इन्डोनेसिया र श्रीलंका जस्ता स्थानमा पठाउँथ्यो । जसले पूरा एसियामा बौद्ध धर्मलाई फैलाउन मद्दत ग¥यो ।

नालन्दाको पुरातात्विक स्थल अब विश्व सम्पदा स्थल बनेको छ । सन् ११९० को दशकमा टर्की र अफगानका सैन्य जनरल अख्तियार खिलजीको नेतृत्वमा आक्रमणकारीको एउटा समूहले विश्वविद्यालय नष्ट गरेको थियो । जसले उत्तर र पूर्वी भारतमा विजय पाएपछि ज्ञान तथा बौद्ध धर्मको केन्द्र नालन्दालाई नष्ट गर्ने घोषणा गरेको थियो । विश्वविद्यालयको परिसर यति ठूलो थियो, आक्रमणकारीले लगाएको आगो ३ महिनासम्म निभेको थिएन ।

आज यहाँ २३ हेक्टरमा खनेपछिको क्षेत्र छ, जुन मूल परिसरको एक अंश मात्र हो । म पनि यहाँको क्षत्र मठमन्दिर घुम्न थाले । राता इँटाका अग्लो गाह्रो भएको बीचको गल्लीमा हिँडेपछि एक मठको प्रांगणमा पुगेँ । ‘यो एक व्याख्यान कक्ष थियो, जहाँ ३ सय छात्र बस्न सक्थे । मञ्चमा शिक्षकको स्थान थियो,’ मेरो स्थानीय गाइड कमला सिंहले भनिन् । म त्यो सानो कोठामा पुगें, जहाँ अफगानिस्तानबाट आएका छात्र बस्ने गरेको मानिन्छ । जहाँ व्यक्तिगत सामान राख्ने स्थानहरु थिए ।

आज विश्वका ठूला विश्वविद्यालयमा जस्तै यहाँ पनि प्रवेश गर्न गाह्रो थियो । इच्छुक छात्रले नालन्दाका शीर्ष प्राचार्यहरुलाई कठोर मौखिक परीक्षा दिनुपथ्र्यो । भाग्यशालीले यो विश्वविद्यालयमा पढ्ने मौका पाउँथ्यो ।

ताडका पत्तामा लेखिएका पुस्तकका पाण्डुलिपि, ती पुस्तकले भरिएका तीनवटा पुस्तकालय । यी मध्ये आगलागीमा बचेका केही पुस्तक अब अमेरिकाको लासएन्जन्ल्सको काउन्टी म्युजियम अफ आर्टमा छन् । केही तिब्बतको यारलुङ म्युजियममा पनि भेटिन्छन् ।

चीनका चर्चित बौद्ध भिक्षु तथा यात्री जुआनज्याङले पनि नालन्दामा अध्ययन र अध्यापन गरेका थिए । जब उनी इसाको ६४५ मा चीन फर्किए, तब उनले ६५७ बौद्ध धर्मग्रन्थ लगेका थिए । उनी विश्वका सबैभन्दा प्रभावशाली बौद्ध विद्वान बने र बौद्ध धर्मग्रन्थलाई चिनियाँ भाषामा अनुवाद पनि गरे ।

उनका जापानी शिष्य दोसोले यो ज्ञान जापानमा फैलाए । जुआनज्याङ पूर्वी एसियामा बौद्ध धर्म ल्याउने भिक्षुको श्रेय दिइयो । उनले कैयौं पुस्तकमा नालन्दाको विवरण उल्लेख गरेका छन् । जसमा तत्कालीन राजाले बनाएको स्तूपलाई छुटाएका छैनन् ।

यो विश्वविद्यालय नष्ट भएको आठ दशकपछि अहिले पनि विद्वान्हरु तत्कालीन मुस्लिम राजा खिलजीले मुस्लिम धर्मले प्रतिस्पर्धा गर्न नसक्ने भएपछि यसलाई नष्ट गरेको तर्क गर्छन् । भारतीय विद्वान् एचडी सांकलियाले भने सन् १९३४ मा आफ्नो पुस्तकमा बौद्ध धर्मलाई नष्ट गर्न आक्रमण गरिएको आवरण देखिए पनि किल्ला जस्तो यसको प्रख्याती र विश्वालयमा रहेको भनिएको धनको लोभ आक्रमणको प्रमुख कारण हुनसक्ने जनाएका छन् ।

नालन्दाका अवशेष र कलाकृतिको रहेको संग्रहालयका प्रमुख शंकर शर्मा आक्रमणको कुनै निश्चित कारण बताउन नसक्ने जनाउँछन् । ‘तर, नालन्दामाथि पहिलो आक्रमण थिएन, त्यसअघि दुइटा आक्रमण भएका थिए,’ उनले भने ।

पाँचौं शताब्दीमा मिहिरकुलका हूणले लुटपाटका लागि त्यहाँ पहिलोपटक आक्रमण गरेका थिए । दोस्रोपटक आठौं शताब्दीमा बंगालका गौड राजाले आक्रमण गरेका थिए । उनले आक्रमण गर्नुको कारण नखुले पनि त्यतिबेला शैव र बौद्ध सम्प्रदायबीच दुस्मनी कारण हुनसक्ने जनाइन्छ । तर, तत्कालीन शासकहरुको संरक्षण रहेको नालन्दा खिलको आक्रमणबाट पनि नष्ट भयो । त्यतिबेला भारतमा बौद्ध पाल राजवंश पनि पतनको समयमा थियो ।

त्यसपछिको ६ शताब्दीमा यस विश्वविद्यालयको इतिहास विस्तारै विलुप्त हुँदै गयो । स्कटिश अनुसन्धाता फ्रान्सिस ह्यामिल्टनले सन् १८१२ मा र सर अलेक्जेन्डेर कनिङहमले सन् १८६१ मा यसको इतिहासलाई फेरि उत्खनन गरेर सबैसामुख ल्याए ।

यहाँको एक स्तूप नजिकै उभिँदा भिक्षुको एउटा समूह जम्मा भइरहेको थियो । त्यसमध्येका एक युवा संन्यासी ध्यानपूर्ण आसनमा थिए । जसको आँखा तत्कालीन राजा अशोकले बनाएको त्यही महान् स्मारकमा थियो– एउटा गौरवशाली इतिहासका लागि मौन श्रद्धाञ्जलि ।

(यो लेख सार्वजनिक सेवा प्रसारक बीबीसीमा  प्रकाशित सुगातो मुखर्जीको आलेखको अनुवाद हाे)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर