रंगशाला विवादमा सुन्तलीले भनिन्, ‘मानसिक यातनाले विक्षिप्त भएको छु’

कलाकार तथा अभियन्ता कुञ्जना घिमिरे (सुन्तली) ले रंगशाला विवादका कारण आफू मानसिक रुपमा विक्षिप्त रहेको जनाएकी छन् । आज सामाजिक सञ्जालमा स्टाटस राख्दै सुन्तलीले विभिन्न माध्यमबाट आएका गालीगलौजबाट मानसिक यातनाले विक्षिप्त भएको उल्लेख गरेकी हुन् ।

उनले लेखेकी छन्, ‘अबको हरेक वार्ता खुलेआम रंगशालाको मैदानमा गरियोस्, ना कि बन्द कोठामा । मलाई इन्बक्समा नग्न तस्बिरहरु पठाउन सुरुवात भएको छ । विभिन्न तुच्छ गालीको वर्षात् भइरहेको छ ।’

उनले राज्यसँग मन दुःखेको पनि बताएकी छन् । ‘‘म पनि मान्छे हुँ, धेरै मन दुखेको छ, राज्य र राष्ट्रसँग । धुर्मुसजीले केही समय धैर्य गर भन्दै गर्दा यतिका समय सुन्नै नसकिने शब्दहरुका गालीगलौज सहँदै आएँ र आज म मानसिक यातनाले विक्षिप्त भएको छु,’ उनले लेखेकी छन् ।
उनले कि सफाइ दिन कि सजाय दिन पनि आग्रह गरेकी छन् । ‘अब सुन्ने र सहने शक्ति छैन ममा, कि मलाई सफाइ देऊ कि सजाय ! तर जे गर्छौ छिटो गर,’ उनले लेखेकी छन् ।

कलाकारहरु सुन्तली र सीताराम कट्टेल (धुर्मुस) ले चितवनमा निर्माण थालेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अहिले अलपत्र परेको छ । धुर्मुस–सुन्तली फाउन्डेसनमार्फत निर्माण थालिएको उक्त रंगशालाको निर्माणका लागि रकम नभएको र करोडौं रकम उधारो रहेको भन्दै फाउन्डेसनले काम रोकेको हो ।

केही दिनअघि निर्माणाधीन रंगशालाबाट धुर्मुसले राष्ट्रको सम्पत्ति निर्माणका क्रममा राज्य र अभियन्ताहरु मिलेर बनाउन खोजेको एउटा संरचनालाई व्यक्तिको जस्तो गरेर आलोचना भइरहेको र आफूलाई ‘आत्मदाह’ गर्नुपर्ने अवस्थामा पु¥याएको गुनासो गरेका थिए ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले उक्त रंगशाला निर्माणका लागि उठाइएको रकम फाउन्डेसनले हिनामिना गरेको भन्दै आलोचना गर्दै आएका छन् । उधारो रकम तिर्ने विषयमा सरकारले निर्णय नगर्दा भरतपुर महानगरलाई रंगशाला हस्तान्तरण भए पनि काम अघि बढ्न सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *