विश्वसामु चीनको दुई अनुहार देखाउँदै सी चीनफिङ

गत शनिबार चिनियाँ राष्ट्रपति सी चीनफिङ र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रों चिया पिउँदै युक्रेनमा शान्तिबारे छलफल गरिरहेका थिए । केही घण्टापछि, चीनको सैन्य शक्ति प्रदर्शन गर्दै उसका लडाकु विमानहरू ताइवानको खाडीमा उडिरहेको देखियो ।

ताइवानलाई धम्की दिने उद्देश्यले गरिएको यो युद्धाभ्यास फ्रान्सेली राष्ट्रपतिको चीन भ्रमणको एक दिनपछि सुरु भएको हो । फ्रान्सेली राष्ट्रपतिको भ्रमणलाई अहिले चीनको कूटनीतिका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ ।

लगभग एकै दिन आएका यी दुई विरोधाभासी तस्बिर चीनले कसरी आफ्ना दुई अनुहार विश्वसामु प्रस्तुत गरिरहेको छ भन्ने उदाहरण हो । एकातिर चीनले अन्तर्राष्ट्रिय शान्तिको कुरा गर्छ भने अर्कोतिर आफ्नो दाबी गर्ने ठाँउको रक्षा गर्न घातक आक्रमणकारीको रूप देखाउँछ ।

तर के चीन आफ्नो रणनीतिमा अडिग रहन सक्छ ?

विश्वस्तरमा चीनको प्रयास

कोभिड महामारीको अन्त्यपछि अर्थव्यवस्था खुल्यो र चीनले कुनै समय नगुमाई कूटनीतिको क्षेत्रमा आफूलाई अघि बढाइरहेको छ । पछिल्ला केही महिनामा चिनियाँ राष्ट्रपति सी चिनफिङले रुस गएर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटेका थिए ।

उनले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रों, युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयन, ब्राजिलका राष्ट्रपति लुइ इनासियो लुला डे सिल्भालगायत धेरै विदेशी नेताहरूलाई चीनमा स्वागत गरे । सी चीनफिङले आफ्ना शीर्ष राजदूतलाई युरोपेली देशहरूको भ्रमणमा पठाए र रुस–युक्रेन युद्ध समाधान गर्ने प्रयासमा १२ बुँदे शान्ति योजना प्रस्तुत गरे ।

यसबाहेक, यस बीचमा कूटनीतिक मामिलामा, चीनले मध्यपूर्वमा ठूलो सफलता हासिल गर्यो, जब वर्षौंको तनावपछि साउदी अरेबिया र इरानले फेरि सम्बन्ध सुमधुर हुने संकेत देखाए । मध्यपूर्व अमेरिकाका लागि निकै महत्वपूर्ण छ तर पछिल्ला केही वर्षयता अमेरिकाले यहाँका देशहरूबीचको आपसी शत्रुतालाई कम गर्न नसकेकोले यस क्षेत्रमा आफ्नो पाइला जमाउन खोजिरहेको चीनको लागि यो ठूलो सफलता मानिएको छ ।

साउदी अरेबिया र इरानका अधिकारीहरूबीच चीनमा चार दिनसम्म चलेको वार्तापछि दुवैले कूटनीतिक सम्बन्ध पुनःस्थापनाको अप्रत्याशित घोषणा गरेका छन् । यी सबैका साथसाथै चीनले विश्वव्यापी सुरक्षा र विकासका लागि पनि धेरै प्रस्तावहरू राखेको छ, जसले ‘ग्लोबल साउथ’ का देशहरूलाई ल्योभ्याउन खोजेको संकेत गर्छ ।

यसअघि पनि उसले आफ्नो महत्वाकांक्षी बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाअन्तर्गत विभिन्न देशमा करोडौं डलर लगानी गर्दै आएको छन् ।
कूटनीतिक पद्धतिमा परिवर्तन

विगतका वर्षमा चर्चा भएको चीनको आक्रामक कूटनीति, जसलाई ‘वुल्फ वारियर्स डिप्लोमेसी’ पनि भनिन थाल्यो, त्यसमा पनि परिवर्तनको संकेत देखिएको छ । सी चीनफिङले अब आफ्ना युवा, आक्रामक तर विवादास्पद विदेश मन्त्रालयका प्रवक्ता लिजियान झाओको स्थानमा वाङ यी र चान ग्याङजस्ता शान्त कूटनीतिज्ञहरूलाई नियुक्त गर्दै छन् ।

यद्यपि यो पनि सत्य हो कि सी पनि आफ्ना कूटनीतिज्ञहरूलाई उनीहरूको ‘आक्रामक पक्ष’ देखाउन प्रोत्साहित गर्छन् । कूटनीतिप्रति चीनको वर्तमान दृष्टिकोणले उसले आफूलाई विश्वभर शक्तिको मुख्य केन्द्रका रूपमा स्थापित गर्न चाहेको देखाउँछ । यसको जरा ‘चिनियाँ राष्ट्रको पुनरुत्थान’ को लामो समयदेखिको राष्ट्रवादको अवधारणामा छ, जसका अनुसार विश्वमा चीनको स्थान सबैभन्दा महत्वपूर्ण छ, जुन उसले पुनः प्राप्त गर्नुपर्दछ ।

झाङ जिन पूर्वी चीनको विश्वविद्यालयमा राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धका सहायक प्राध्यापक हुन् । उनी भन्छन्, सी चीनफिङले यो वर्ष तेस्रो पटक पदको सपथ लिँदा उनले ‘चीन सपना’ को कुरा गरे, जसले ‘अपनाइएको बाटो र यसको आधुनिकताको तरिका’ मा चिनियाँ नेतृत्वको विश्वास देखाएको छ ।

यद्यपि झाङ यो विषय चीनको कुनै परी कथालाई विश्वको कुनाकुनामा लैजानेसँग सम्बन्धित नभएको बताउँछन्, तर यसको उद्देश्य विश्वव्यापी आर्थिक सम्बन्धलाई बलियो बनाउनु हो । एशिया सोसाइटी पोलिसी इन्स्टिच्युटका चाइना पोलिटिक्सका फेलो नील थोमस भन्छन्, ‘राम्रो अर्थतन्त्र बिना सी चीनफिङले चिनियाँ राष्ट्रको पुनरुत्थानको सपना पूरा गर्न सक्दैनन् ।’

उनी भन्छन्, ‘चीनले कूटनीतिको क्षेत्रमा आफ्नो प्रभुत्व बढाउनु पर्छ, तर साथसाथै प्रगति पनि गरिरहनुपर्छ । पश्चिमी देशहरुसँग दूरी कायम गरेर यो गर्न सकिँदैन, तपाईसँग राम्रो व्यापारिक सम्बन्ध हुनुपर्छ ।’ ‘यसका लागि तपाईलाई कूटनीति चाहिन्छ र तपाईले ‘उल्फ वारियर्स डिप्लोमेसी’ को छविलाई कम गर्न आवश्यक छ,’ थोमस भन्छन् ।

चीनलाई किन परिवर्तन चाहिन्छ ?

तर पछिल्लो समय चीनको कूटनीतिक अडानमा देखिने परिवर्तनको कारण उसले घेरिएको महसुस गर्नु हो । पश्चिमी देशहरूसँग तनावको परिणामले चीनविरुद्ध अकस र क्वाड जस्ता बलिया सुरक्षा गठबन्धन बने । आधुनिक प्रविधिमा पुग्ने प्रयासलाई रोक्न प्रयास गरियो ।

यस वर्षको मार्चमा, सी चीनफिङले आरोप लगाए कि ‘अमेरिकाको नेतृत्वमा पश्चिमी देशहरूले चीनलाई घेरेर अवरुद्ध र दबाउन खोजिरहेका छन्, देशको विकासमा अभूतपूर्व चुनौतीहरू खडा गर्दैछन् ।’ कार्नेगी चाइना फेलो इयान चोङ भन्छन्, गत वर्ष रुसले युक्रेनविरुद्ध विशेष सैन्य कारबाही सुरु ग¥यो, त्यसपछि नाटो सैन्य गठबन्धनका देशहरू बीचको सम्बन्ध अत्यन्त बलियो भयो र चीनको यो सोचलाई थप बलियो बनायो ।

उनी भन्छन्, ‘धेरै शक्तिशाली देशहरू अमेरिकाका साथी हुन् भन्ने महसुस चीनले गरिसकेको छ । यस कारण उसले आफू बढी घेरिएको महसुस गरेको छ र यसबाट बाहिरिन बल लगाइरहेको छ ।’

अमेरिकाबाट टाढा तर उसका साथीबाट हैन

चीनले अमेरिकी आधिपत्यलाई चुनौती दिने विकल्प भएको बताएको छ । अमेरिकी वर्चस्वका कारण देशहरु एकअर्कासँग हात मिलाएर पावर ब्लक बनाउँदै गएका छन्, जसले तनाव बढ्दै गएको उसको भनाइ छ ।

इमानुएल म्याक्रोंको चीन भ्रमणको क्रममा यो कुरा अझ स्पष्ट भयो, जब सी चीनफिङले म्याक्रोंको ‘रणनीतिक स्वायत्तता’लाई युरोपले बहुध्रुवीय संसारमा ‘स्वतन्त्र अक्ष’ को रूपमा हेर्नुपर्छ भनी प्रतिक्रिया दिए । देशहरुबीच शक्ति सन्तुलन भए विश्व सुरक्षित हुने चीनको भनाइ छ । तर, अन्य देशहरू यो कुुरा उनीहरूलाई अमेरिकाबाट टाढा र चीनसँग नजिक ल्याउने प्रयास भएको मान्छन् ।

चीन प्रायः अमेरिकाभन्दा आफू विश्वको नेतृत्व गर्न भरपर्दो छ भन्छ किनभने उसको हात रगतले रंगिएको छैन । इराक र अफगानिस्तानको उदाहरण दिँदै उसले यी दुई देशमा अमेरिकाको विदेश नीति असफल भएको बताउँदै आएको छ ।

कम्युनिष्ट चीन न त कुनै देशमा आक्रमण गरेको छ न कुनै किसिमको प्रोक्सी युद्धमा संलग्न भएको उसको भनाइ छ । तर उसले तिब्बत कब्जा गरेको छ भने भियतनामसँग युद्ध पनि गरेको छ । भारतसँगको सिमानालाई लिएर दुई देशबीच केही वर्षदेखि तनाव रहँदै आएको छ र भारतले आफ्नो भूमि अवैध रूपमा चीनले कब्जा गरेको आरोप लगाउँदै आएको छ ।

दक्षिण चीन सागरलाई लिएर एसियाका धेरै देशहरूसँग पनि यसको विवाद छ । जहाँ अन्य देशहरूले आफ्नो केही क्षेत्र दाबी गर्छन्, चीनले यसको ठूलो भाग र लगभग सबै टापुहरू आफ्नो भागमा देखाउँछ ।

जहाँसम्म ताइवानको सवाल छ, चीनले यसलाई आफ्नो हिस्सा मान्छ, जसलाई उसले आज वा भोलि आफ्नो मुख्य भूमिमा विलय गर्नेछ, यसका लागि बल प्रयोग गर्नु परे पनि । उसले एक चीन नीतिको कुरा गर्छ र आफूसँग सम्बन्ध राख्ने देशहरूले ताइवानलाई मान्यता दिने छैनन् भन्ने विश्वास गर्छ ।

के चीनको नयाँ कदमले काम गरिरहेको छ ?

चीनको यो बदलिएको रणनीतिले ग्लोबल साउथका केही देशहरू र चीन तथा अमेरिकाको नजिक नरहेका देशहरूसँग राम्रो काम गर्न सक्छ । प्रोफेसर झाङ जिन भन्छन्, चीनले बल प्रयोग नगरी मध्यस्थताको रणनीति अगाडि बढाएको छ ।

अधिनायकवाद भएका देशहरूले गैरहस्तक्षेपको यो रणनीतिलाई स्वागत गर्नेछन् । नील थोमस भन्छन्, ‘त्यस्ता धेरै देशहरू छन् जसले न त गणतन्त्रलाई आफ्नो शक्तिको केन्द्रमा राख्छन् न मानवअधिकारलाई । तिनीहरूका लागि चीन विश्वव्यापी शासनको च्याम्पियन हुन सक्छ ।’ तर इयान चोङ भन्छन्, ‘ती देशहरु चीनको समर्थनमा खुलेर बाहिर आउँछन् भन्ने शंका छ ।’

युक्रेन युद्धसम्बन्धी संयुक्त राष्ट्रसंघमा भएको मतदानमा यो प्रष्ट देखिन्थ्यो । युक्रेनमा रुसी आक्रमणको विषयमा आएको प्रस्तावमा चीनले मतदान गरेन, तर अधिकांश देशहरूले युद्धको निन्दा गरे । र, त्यसपछि जब चीनले युक्रेनमा शान्तिको प्रस्ताव पेश ग¥यो, अमेरिकाका परम्परागत सहयोगी युरोपका देशहरूमा चीनको यो कदमको चर्चा सुरु भयो ।

केहीले चीनको प्रस्तावलाई सिधै खारेज गरे, जबकि युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनले कडा लाइन लिए र चीनले शान्तिलाई मात्र प्रवर्द्धन गर्ने अपेक्षा गरे । म्याक्रों र सी चीनफिङको पत्रकार सम्मेलनपछि छुटै पत्रकार सम्मेलनमा उर्सुला भोन डर लेयनले भने कि यदि चीनले रुसलाई हतियार आपूर्ति जारी राख्यो भने यो अन्तर्राष्ट्रिय कानूनको उल्लंघन हुनेछ र युरोपेली संघ र चीनबीचको सम्बन्धलाई ‘गम्भीर क्षति’ हुनेछ ।

इमानुएल म्याक्रोंको हालैको चीन भ्रमणको क्रममा, उनलाई सैन्य परेडद्वारा भव्य स्वागत गरिएको थियो । राष्ट्रपति सी चीनफिङ आफैंले उनीसँग दक्षिणी सहर ग्वाङझाउको भ्रमण गरे र दुईबीच सबैभन्दा राम्रो मित्रता रहेको संकेत दिए ।

त्यसपछि, म्याक्रोंले पत्रकारहरूलाई ताइवानको मुद्दालाई बढी जोड दिनु युरोपको हितमा नहुने र सरोकार नभएको विवादमा पर्न नहुने बताए । उनले अमेरिकाको सहयोगी राष्ट्रको हुनुको अर्थ उसैको निगाहमा रहनु भन्ने पनि नहुने बताए । म्याक्रोंको भनाइ सी चीनफिङको रणनीति काम गरिरहेको प्रमाण हो ।

नील थोमस अमेरिका र चीनबीच जारी तनावमा युरोप मुख्य रणभूमि बनिरहेको बताउँछन् । बदलिँदो समयसँगै यो एक प्रकारको ‘स्विङ स्टेट’ बन्दै गएको छ र जसको हात समात्ने माथि पुग्छ ।

तर हालको लागि, म्याक्रोंले युरोपका अन्य देशहरूको प्रतिनिधित्व गर्दैनन् । उनको बयानको आलोचना भएको छ र जर्मनीले आफ्नो विदेश मन्त्री अन्नालेना बारबकलाई चीन पठाउनु पर्यो, जहाँ उनले ताइवानमा ईयूको अडान दोहोर्याइन् । उनले ताइवानको खाडीमा कुनै पनि प्रकारको तनावको बारेमा चेतावनी दिइन् र यसले जर्मनी तथा युरोपेली संघलाई असर गर्ने बताइन् ।

ताइवान मुद्दा र चीनको चुनौती

तर ताइवान चीनको लागि अत्यन्तै संवेदनशील मुद्दा हो र यही बिन्दु हो जहाँ चीनको नयाँ रणनीति बाहिर जाने देखिन्छ । ताइवानकी राष्ट्रपति साई इंग–वेनले यस महिनाको सुरुमा अमेरिकाको भ्रमण गरिन् । न्यूयोर्कमा उनको न्यानो स्वागत भयो र पछि अमेरिकी प्रतिनिधि सभाका सभामुख केभिन म्याकार्थीसँग भेट भयो ।

उनको भ्रमणबाट आक्रोशित चीनले ताइवानको खाडी नजिक सैन्य युद्धाभ्यास सुरु गर्यो, जसमा उसको लडाकु विमान र ट्यांकहरू ताइवान नजिकैबाट गुज्रिरहेको देखियो । हालैका महिनामा, चिनियाँ लडाकु विमानहरू लगभग हरेक महिना ताइवान नजिकै उडेका छन् र ताइवानले चिनियाँ विमानहरूले आफ्नो हवाई क्षेत्र अतिक्रमण गरेको आरोप लगाएको छ ।

विश्लेषकहरू भन्छन् कि त्यस्ता आरोपहरूले शान्ति स्थापनाको भूमिका खेल्न सक्ने चीनको दाबीलाई बेवास्ता गर्छ । उही समयमा, अन्य धेरै देशहरूले चीनको यस प्रकारको कार्यलाई उसको आक्रामकताको रूपमा हेरेका छन् । तर, चीनले बारम्बार यो उसको घरेलु मामिला भएको र यो उसको रक्षासँग सम्बन्धित रहेको भन्दै आएको छ ।

इयान चोङ भन्छन् कि यदि ताइवानमा युद्ध भयो भने यसले सम्पूर्ण विश्वलाई असर गर्नेछ । विश्वको कुल सेमिकन्डक्टरको ६० प्रतिशत त ताइवानमा मात्र उत्पादन हुन्छ । यो संसारको सबैभन्दा व्यस्त समुद्री मार्गहरू मध्ये एकको नजिक छ र युरोप र एसिया जाने धेरै महत्वपूर्ण दूरसञ्चार लाइनहरू यसबाट गुज्रन्छन् ।

त्यसमाथि युद्ध भएमा एसियालाई अस्तव्यस्त पार्ने जिम्मेवारी चीनको टाउकोमा आउनेछ । चीनले ताइवानमाथि आक्रमण गर्न नचाहेको अधिकांश विज्ञहरुको भनाइ छ, तर चीनले हतारमा सैन्य कारबाही गरेमा अमेरिका पनि यस युद्धमा फस्न सक्छ, किनभने यसअघि पनि धेरै पटक ताइवानको रक्षा लागि उसले प्रतिबद्धता जनाइसकेको छ ।

नील थोमस भन्छन्, ‘सी चीनफिङ एकातिर ताइवान सम्बन्धमा आफ्नो शक्ति देखाउन चाहन्छन् भने अर्कोतिर चीनको नयाँ कूटनीतिको बाटोमा अगाडि बढाउन चाहन्छन् ।’ तर ताइवानका सम्बन्धमा उनको तीखो शब्दका कारण धेरै देशहरूले उसले जुनसुकै बेला ताइवानमाथि आक्रमण गर्न सक्छ भन्ने महसुस गर्न थालेका छन् । ‘यस्तो अवस्थामा यी दुई उद्देश्यलाई सन्तुलनमा राखेर अगाडि बढ्नु सीका लागि ठूलो चुनौती हुन सक्छ,’ थोमसले भने ।

चीनले विश्वका अन्य देशलाई मित्रताको हात अगाडि बढाउने क्रममा आफ्ना केही निर्णयका कारण विश्वको नजरमा पनि आउनेछ । आगामी दिनमा चीनले पनि अन्तर्राष्ट्रिय शान्तिको कुरा गर्न आफ्नो अडान नरम राख्ने वा घातक आक्रमणकारीजस्तै आफ्नो आक्रामक अडान कायम राख्ने निर्णय गर्नुपर्ने हुनसक्छ । बीबीसी हिन्दीबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *