नेपालको सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायीलाई प्रधानमन्त्री दाहालको आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायीलाई आग्रह गरेका छन्।

भारतको मध्य प्रदेशको इन्दौरमा अवस्थित विशेष आर्थिक क्षेत्रमा टाटा कन्सल्टेन्सी सर्भिसेसको अवलोकन गर्दै प्रधानमन्त्री प्रचण्डले टाटा कम्पनीजस्तै सूचना प्रविधिका क्षेत्रमा लगानी गर्न आह्वान गरेका हुन्।

उनले भने, ‘टाटा कम्पनीजस्तै नेपालमा सूचना प्रविधिका क्षेत्रमा धेरै सम्भावना रहेकाले यस क्षेत्रमा काम गर्न सकिन्छ। लगानी गर्नुस् त्यसका लागि हामी (नेपाल सरकार) सहजीकरण गर्छौं।’

प्रधानमन्त्री प्रचण्डले अवलोकनका क्रममा सो क्षेत्रमा सुनाखरीको बिरुवासमेत रोपेका थिए।

सोही क्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको सूचना प्रविधिका क्षेत्रमा पर्याप्त जनशक्ति रहेकाले लगानीका लागि आग्रह गरे। ‘नेपालको आईटी सेक्टरमा पर्याप्त जनशक्ति छन्, लगानी गर्न आउनुस् हामी स्वागतका लागि आतुर छौं,’ उनले भने।

भारतको प्रसिद्ध टाटा कम्पनीले संसारका ४८ भन्दा बढी मुलुकमा काम गर्दै आएको छ। उक्त कम्पनीमा छ लाख बढी कर्मचारी आबद्ध छन्। इन्दौरको विशेष आर्थिक क्षेत्रमा रहेको टाटा कम्पनीको अवलोकनका लागि प्रधानमन्त्री, मन्त्रीहरूसहित नेपाली प्रतिनिधिमण्डल त्यस क्षेत्रमा गएको हो।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बुधबार भारत गएका हुन्। भ्रमणका क्रममा प्रधानमन्त्री दाहाल शुक्रबार मध्य प्रदेशस्थित इन्दौर पुगेका हुन्।

उनी दिल्ली फर्किएर आज अपराह्न काठमाडौं फिर्ता हुनेछन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर