संसदीय निर्वाचनमा प्रत्यक्षतर्फ महिला सहभागिता बढाउन राजनीतिक दललाई आग्रह

सभामुख अग्नीप्रसाद सापकोटाले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरूको सहभागिता बढाउन सबै राजनीतिक दलहरूलाई आग्रह गरेका छन् ।

शासन व्यवस्था र लोकतन्त्रलाई बलियो बनाउन तथा मुलुकको बहुआयामिक विकासका लागि पनि दलहरूले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचनमा महिलाहरूको बढीभन्दा बढी सहभागिता गराउनुपर्ने सभामुख सापकोटाको तर्क छ ।

बिहीबार काठमाडौंमा आयोजित ‘निर्वाचन प्रणाली र महिला प्रतिनिधित्व’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अहिले मतदाताहरूमा दलगत मतदान गर्ने अरुचि देखा परेको उल्लेख गर्दै त्यसलाई हटाउन पनि राजनीतिक दलहरूले आगामी निर्वाचनहरूमा प्रत्यक्षतर्फ निर्वाचन प्रणालीतर्फ महिलाहरूको अधिक प्रतिनिधित्व गराउने कुरामा जोड दिनुपर्ने बताए ।

सभामुख सापकोटाले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरूको सहभागिता बढाउन महिला सांसदहरूले पनि आ–आफ्नो दलमा सामूहिक पहलकदमी लिनुपर्ने आवश्यक्ता औंल्याए ।

त्यस अवसरमा सभामुख सापकोटाले जनताप्रति उत्तरदायी हुन पनि जनप्रतिनिधिहरूलाई सचेत गराए । जनप्रतिनिधिहरूको जीवनस्तरमा परिवर्तन आए पनि जनताको जीवनमा खासै परिवर्तन नआएकाले उनीहरूले गरेको हरेक प्रश्नको जवाफ जनप्रतिनिधिहरूले दिनुपर्ने उनले बताए ।
सभामुख सापकोटाले भने, ‘हामी जनप्रतिनिधिहरूले जनताप्रति उत्तरदायी हुनैपर्छ । जनताको एकएक प्रश्नको उत्तर हामीले दिनैपर्छ । जनताप्रति जवाफदेही हुने र उनीहरूको विश्वास लिएर मात्रै अघि बढन सकिन्छ ।’

कार्यक्रममा बोल्दै उपसभामुख पुष्पा भुसालले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरूको सहभागिता अधिक गराउन राजनीतिक दलहरूको ध्यानाकर्षण गराइन् । समाजमा विद्यमान महिलाहरूलाई हेर्ने दृष्टिकोणमा आमूल परिवर्तन ल्याउन पनि राजनीतिक दलहरूले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरूको अधिक सहभागिता गराउन पहल गर्नुपर्ने उनले बताइन् ।

पूर्वसभामुख ओनसरी घर्तीले भोलिको पुस्तालाई राजनीतिमा आकर्षित गराउनका लागि पनि अहिले नै राजनीतिक दलहरूले महिलाहरूलाई प्रत्यक्षतर्फको निर्वाचनमा बढीभन्दा बढी सहभागिता गराउन लाग्नुपर्ने खाँचो रहेको बताइन् । उनले आरक्षण र विशेषाधिकार केही समयको लागि मात्रै भएकाले महिला नेतृत्व स्थापित गराउनका लागि महिला सांसदहरूले पनि पहलकदमी लिनुपर्ने बताइन् ।

पूर्वसभामुख घर्तीले विशेषाधिकारको उपयोग गरेर महिलाहरूले आफूलाई कमजोर सावित गर्न नहुने पनि बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *