नेपाल उद्योग परिसंघले पूर्वाधार सम्मेलन आयोजना गर्दै

नेपाल उद्योग परिसंघले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको सहकार्यमा भदौ २३ र २४ गते पूर्वाधार सम्मेलन आयोजना गर्ने भएको छ ।

सोमबार उद्योग परिसंघले पत्रकार सम्मेलन गर्दै आगामी भदौ २३ र २४ गते पूर्वाधार सम्मेलन आयोजना गर्न लागेको जानकारी दिएको हो । परिसंघले पूर्वाधार सम्मेलनमार्फत नेपालको पूर्वाधार क्षेत्रमा लगानी आकर्षित गर्ने, उत्थालशील पूर्वाधारका परियोजनाहरूलाई प्राथमिकता दिने उद्देश्य रहेको बताएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै उद्योग परिसंघका अध्यक्ष विष्णुप्रसाद अग्रवालले विगतमा आयोजना भएका सम्मेलन नीति निर्मातालाई पूर्वाधार विकासको महत्त्व बुझाउन सफल भएको बताए । उनले पूर्वाधार विकासको लागि परिसंघले धेरै महत्त्वपूर्ण काम गर्दै आएको बताए ।

अध्यक्ष अग्रवालले सरकारले सार्वजनिक निजी साझेदारीको लागि कानुन बनाउने क्रममा रहेको बताए । उनले परिसंघको अवधारणाबाट पूर्वाधार विकास बैंक स्थापना भएको बताए ।

अध्यक्ष अग्रवालले तीनवटै तहका सरकारले पूर्वाधारका क्षेत्रमा लगानी बढाउनुपर्ने बताए । उनले विगतमा परिसंघले आयोजना गरेको सम्मेलनले पूर्वाधार विकासका क्षेत्रमा सकारात्मक योगदान दिएको भन्दै यो वर्ष पनि निरन्तरता दिइएको बताए । उनले सम्मेलनमा भारत सरकारको परिवहन राज्यमन्त्री विजयकुमार सिंहसमेत सहभागी हुन लागेको बताए ।

अध्यक्ष अग्रवालले नेपालको पूर्वाधार विकासका क्षेत्रमा ठूलो अवसर भएकोे बताए । उनले सम्मेलनमा पूर्वाधार निर्माणमा देखिएका समस्या र अवसरमाथि पनि छलफल हुने बताए ।

पूर्वाधार सम्मेलनमा एशियाली विकास बैंकका उपाध्यक्ष र विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय विज्ञको समेत सहभागिता रहने परिसंघले जनाएको छ । सम्मेलनको नारा ‘विकासका लागि पूर्वाधार’ तय गरिएको छ । सम्मेलनमा लगानी बोर्ड नेपालले अध्ययन गरेका आयोजनासमेत राखिने छन् ।
सम्मेलनमा १ हजार जना सहभागी हुने परिसंघले अपेक्षा गरेको छ । कार्यक्रमको सहआयोजकमा लगानी बोर्ड नेपाल र युथ कम्युनिटी फर नेप्लिज कन्ट्याक्टर रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर