गठबन्धन सरकारमा मुख्यमन्त्री र अर्थमन्त्री एउटै दलको नहुँदा पश्चात्ताप : मन्त्री थापा

गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेश सभा मामिलामन्त्री विन्दुकुमार थापाले गठबन्धन सरकारमा मुख्यमन्त्री र अर्थमन्त्री एउटै दलको नहुँदा पश्चात्ताप भएको बताएका छन् ।

नेपाल प्रेस युनियन कास्कीले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री थापाले मुख्यमन्त्री र अर्थमन्त्रीबीच बजेट निर्माणमा कुरा नमिल्दा सोचेअनुरूप काम हुन नसकेको समेत स्वीकार गरे ।

गण्डकी सरकारले बजेटको बेला सवारी, मालपोत लगायत क्षेत्रमा गरेको कर वृद्धि निर्वाचन मिति घोषणापछि सच्याएको समेत मन्त्री थापाले बताए । उनले बजेट निर्माणका क्रममा आफूले कुनै भूमिका नपाएको र आफ्नो मन्त्रालयले पाइरहेको बजेट कटौती गरेको गुनासो गरे । उनले पार्टीले टिकट दिए फेरि पनि कास्की क्षेत्र नम्बर २ बाटै चुनाव लड्ने इच्छा व्यक्त गरे ।

मन्त्री थापाले प्रदेश सभा सदस्यमा निर्वाचित भएदेखि हालसम्म खाइपाइ आएको सेवा सुविधा विकास निर्माण र सामाजिक कार्यमा खर्चिने गरेकोमा हालसम्मको रकम सार्वजनिक गरे । वि.सं.२०७४ सालमा निर्वाचित भएदेखि २०७८ चैत्रसम्म विकास निर्माण र सामाजिक कार्यमा आफूले ५८ लाख २९ हजार रुपैयाँ खर्च गरेको जानकारी दिए । उनले प्रदेश सभाको पहिलो वर्ष १० लाख ५४ हजार, दोस्रो वर्ष ९ लाख ३ हजार, तेस्रो वर्ष १२ लाख, ४७ हजार र चौथो वर्ष ११ लाख ३६ हजार रुपैयाँ सामाजिक कार्यमा खर्च भएको बताए ।

थापाले सार्वजनिक गरेको विवरणअनुसार वि.सं. २०७४ सालदेखि हालसम्म उनको बैंक खातामा ४० लाख ७१ हजार रुपैयाँ रहेको छ । जुन रकम बैठक भत्तादेखि मासिक पारिश्रमिक र अन्य सेवा सुविधा समेतको भएको मन्त्री थापाले बताए ।

मन्त्री थापाले सांसद निर्वाचित हुनुअघि नै राज्यबाट पाउने सेवा सुविधा सामाजिक सेवामा खर्च गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *