‘संविधानको रक्षा, मुलुकमा स्थिरता र तीव्र आर्थिक समृद्धिका लागि गठबन्धनले जित्नुपर्छ’

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संविधान र लोकतन्त्रको रक्षा, मुलुकको शासनमा स्थिरता र तीव्र आर्थिक समृद्धिका लागि नेपाली कांग्रेस र सत्ता गठबन्धनले आमनिर्वाचन जित्नुपर्ने बताएका छन्।

साथै सन्तुलित परराष्ट्रनीति, विकासका काम ढिलासुस्ती, अनियमिता र भ्रष्टाचारजस्तो बेथितिको अन्त्यका लागि पनि कांग्रेस र गठबन्धनको जित आवश्यक रहेको उनको भनाइ छ। एक भिडियाे सन्देशमा उनले यस्ताे बताएका हुन् ।

यस्तै शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नका लागि गठबन्धनले चुनाव जित्नुपर्नेमा उनको जोड छ।

उपसभापति खड्काले सत्तारूढ गठबन्धन दुई तिहाई बहुमत ल्याउने लक्ष्यसहित आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा होमिएको बताए ।

उपसभापति खड्काले मुलुकको कुनाकुनासँग निर्वाचनको प्रचार अभियानले तीव्रता पाएको उल्लेख गर्दै गठबन्धनको पक्षमा जनमत ल्याउने गरी समर्पित भएर क्रियाशील हुन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

लोकतन्त्रको रक्षाका लागि, संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि र जनताको समृद्धिका लागि आफूहरूले विचार मिल्ने पार्टीहरूसँग सहकार्य गरेर चुनावी गठबन्धन गर्नुपरेको उनको भनाइ छ । उपसभापति खड्काले जनताले मुलुकमा तीव्र आर्थिक विकास चाहेको र त्यसलाई पूरा गर्नका लागि पनि सत्तारूढ गठबन्धनले आगामी निर्वाचनमा विजयी हुन चाहेको बताए ।

संविधानलाई आवश्यकताअनुसार संशोधन गर्दै अगाडि बढ्न पनि कांग्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध राजनीतिक दलहरूलाई साथमा लिएर निर्वाचनमा जानुपरेको बताए ।

उपसभापति खड्काले ठूला छिमेकी मुलुक भारत र चीनसँग सकारात्मक सहयोग लिएर मुलुकलाई समृद्ध बनाउन पनि सत्तारूढ गठबन्धन आगामी निर्वाचनमा विजयी हुनुपर्ने बताए ।

 

हेर्नुहाेस् भिडियाे :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर