कला, सम्पदा र संस्कृतिको प्रवर्द्धन गर्न ललितपुर-३ मा मेरो उम्मेदवारी : पम्फा भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री तथा गठबन्धनको तर्फबाट ललितपुर क्षेत्र नं. ३ की प्रतिनिधि सभा सदस्य उम्मेदवार पम्फा भुसालले कला, सम्पदा र संस्कृतिहरूको प्रवर्द्धन गर्न आफू उम्मेदवार बनेको बताएकी छन् ।

मंगलबार सत्तारूढ गठबन्धनले ललितपुर जिल्लामा आयोजना गरेको गठबन्धनका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री भुसालले ललितपुरको कला, सम्पदा, संस्कृति र परम्पराको प्रवर्द्धनका लागि प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएको बताएकी हुन् ।

उनले ललितपुरमा कृषि पर्यटनको अवधारणा लागु हुनुपर्ने भन्दै त्यसका लागि आवश्यक नीतिगत व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले पर्यटनमा आधारित अर्थतन्त्र, समतामूलक समाज र स्वच्छ पर्यावरणलाई विशेष प्राथमिकता दिएर सोअनुरूपको नीति र कार्यक्रम बनाउन आफू प्रतिबद्ध रहेको पनि बताइन् ।

मन्त्री भुसालले ऐतिहासिक सम्पदा, मठमन्दिर र गुम्बासहित परम्परागत पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्दै डिजिटल प्रोफाइल तयार गर्ने बताइन् । उनले रथयात्रा, पर्व, पहिरन तथा गरगहनाजस्ता मौलिक संस्कृतिको व्यापक प्रवर्द्धन गर्न जोड दिने उल्लेख गरिन् ।

त्यस्तै गरी गठबन्धनको तर्फबाट ललितपुर क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार नेपाली कांग्रेसका नेता उदय शमशेर राणाले देशको आर्थिक अवस्थामा परिवर्तन ल्याउनको निम्ति वाम–लोकतान्त्रिक गठबन्धनले दुई तिहाइ मत ल्याउनुपर्ने बताए । उनले मंसिर ४ गतेपछि गठबन्धनको सरकार बन्ने र देशको आर्थिक अवस्थामा सुधार ल्याई बेरोजगार युवाहरूलाई रोजगारी दिने लक्ष्य रहेको बताए ।

उनले आफ्नो क्षेत्रमा स्थानीय तहको निर्वाचन परिणामअनुसार गठबन्धनको मत एमालेको भन्दा १५ हजार बढी रहेको भन्दै आफ्नै मत सुरक्षित गरेमा निर्वाचन जित्न सकिने बताए ।

त्यसैगरी ललितपुर क्षेत्र नं. २ का गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का नेता कृष्णलाल महर्जनले प्रतिगमनकारीहरूलाई परास्त गर्नका लागि आफैँलाई उम्मेदवार ठानेर निर्वाचनको काममा लाग्न नेता, कार्यकर्ताहरूलाई आग्रह गरे । उनले आफू विगतमा सांसद हुँदा मतदाताहरूले शिर झुकाउनुपर्ने गरी काम नगरेको भन्दै आगामी दिनमा पनि मतदाताको शिर झुकाउन नदिने प्रतिबद्धता व्यक्त गरे ।

उनले विगतमा आफ्नै नेतृत्वको गलत कामको विरुद्धमा विद्रोह गरेको उल्लेख गर्दै खराब कामको विरुद्धमा सधैँभरि लाग्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर