गठबन्धन दलहरूबीच अविश्वासको वातावरण छैन : देउवा

प्रधानमन्त्री एवम् कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारूढ गठबन्धनका उम्मेदवारहरूलाई भोट हाल्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री देउवाले आफूले हसिँया हतौडामा भोट हालिसकेको र आगामी निर्वाचनमा पनि हाल्ने उल्लेख गर्दै कांग्रेसका नेता, कार्यकर्ताले पनि त्यसै गर्ने बताए । मंगलबार ललितपुरमा आयोजित सत्तारूढ गठबन्धनको अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले आगामी निर्वाचनमा सत्तारूढ गठबन्धनले अत्यधिक बहुमत ल्याउने गरी मतदान गर्न पनि आम मतदातालाई आग्रह गरे ।

सत्तारूढ गठबन्धनले अत्यधिक बहुमत ल्याए मुलुकमा स्थायी शान्ति, स्थायी लोकतन्त्र र गणतन्त्रले पनि स्थायित्व पाउने उनको भनाइ थियो । प्रधानमन्त्री देउवाले गठबन्धन दलरूबीच अविश्वासको वातावरण नरहेको भन्दै खुसी व्यक्त गरे ।

प्रधानमन्त्री देउवाले सत्तारूढ दलका नेताहरूले सरकारलाई सहयोग गरेको भन्दै धन्यवाद दिए । उनले संसद् दुई पटक भंग गरेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिच्ने काम गरेको तर आफूहरूले त्यसलाई जोगाएको पनि बताए । प्रधानमन्त्री देउवाले मुलुक बिजुली बेचेर सम्पन्न बनाउने गरी भारतसँग बिजुली खरिद सम्झौता गर्न आफू नेतृत्वको गठबन्धन सरकार सफल भएको दाबीसमेत गरे ।

प्रधानमन्त्री देउवाले नेपालको संविधान राम्रो भएको उल्लेख गर्दै सोहीअनुसार अघि बढ्नुको विकल्प नरहेको पनि बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *