आगामी निर्वाचन एमालेले नजिते देशले दुर्भाग्य भोग्नुपर्छ : ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन नेकपा एमालेले नजिते देशले दुर्भाग्य भोग्नुपर्ने बताएका छन् । बुधबार काठमाडौं–१ मा पार्टीका उम्मेदवार किरण पौडेलको प्रचार कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले यसपटक नेकपा एमालेबाहेकको राष्ट्रिय शक्ति जनताले बनाउन नहुने बताए । उनले आगामी निर्वाचनमा नेकपा एमालेलाई देशको राष्ट्रिय शक्ति नबनाए देशले दुर्भाग्य खेप्नुपर्ने उल्लेख गरे ।

अध्यक्ष ओलीले अहिलेको सत्ता गबठन्धनले नै पुनः देशको नेतृत्व गरेको खण्डमा देशको विकास सम्भव नरहेको जिकिर गरे । उनले गठबन्धन सरकार सर्वोच्च अदालतको परमादेशबाट बनेको भन्दै जालीकीर्ते गरेर बनाइएको सरकारले निरन्तरता पाउन नहुने बताए ।

उनले सर्वोच्च अदालतले प्रधानमन्त्री बनाउने हो भने संसद् र निर्वाचनको अर्थ के हो ? भन्दै प्रश्नसमेत गरे । अध्यक्ष ओलीले परमादेश जारी गरेसँगै अदालतको अवस्था बेहाल भएको बताए ।

अध्यक्ष ओलीले विकासको मूल फुटाउने कामको नेतृत्व युवा र नेकपा एमलेले गर्ने भन्दै नेकपा एमालेको समर्थन गर्न आग्रह गरे । उनले अहिलेको सत्ता गठबन्धनको सरकारलाई अलच्छिना सरकारको संज्ञा दिए ।

उनले देश बिगार्न नदिनका लागि नेकपा एमालेमा नै भोट हाल्नुको विकल्प नरहेको उल्लेख गर्दै पुर्खाको बलिदानलाई लत्याउन नहुने बताए । उनले यतिबेला देशविरोधी तत्त्वहरू सक्रिय भइरहेको भन्दै आगामी निर्वाचनमा एमालेललाई बहुमतले जिताएर स्थायित्व कायम गर्न लाग्नुपर्ने बताए ।

उनले अफ्नो पार्टीको सरकारले भूकम्पपछिको सफल पुनर्निर्माण गरेको र काठमाडौंमा पुनर्निर्माण गरिएको धरहराले आफ्ना विरोधीहरूको मुटुमा सुइरो रोपिएको भन्दै कटाक्ष गरे । उनले विश्वमै भूकम्पपछिको पुनर्निर्माणमा छिटो सफलता पाउने देशमा नेपाल परेको पनि दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *