विवादित सहसचिवहरु साह र पुडासैनीलाई पन्छाउँदै शर्मा सचिव नियुक्त

सरकारले सहसचिव केशवकुमार शर्मालाई सचिवमा बढुवा गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले बढुवा समितिले तेस्रो नम्बरमा सिफारिस गरेका शर्मालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

शर्मा व्यावसायिक तथा इमानदार कर्मचारीको रुपमा परिचित छन् । उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत छन् । उनलाई सिँचाइ मन्त्रालयमा सरुवा गरिने सम्भावना छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सागर कुमार राई केही दिनअघि अनिवार्य अवकाशमा गएसँगै एक प्राविधिक सचिव पद रिक्त भएको थियो ।

लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले रामआधार साह, विश्वबाबु पुडासैनी र केशव शर्माको नाम सचिवमा बढुवाका लागि सिफारिस गरेको थियो ।

सहसचिवहरु साह र पुडासैनी यसअघि विभिन्न सरकारी निकायमा रहँदा विवादमा परेका थिए ।

पेट्रोल पम्प काण्डमा साहलाई २०७२ मा तत्कालीन महानगरीय अपराध महाशाखाले पक्राउ समेत गरेको थियो । गुणस्तर तथा नापतौल विभागको महानिर्देशक रहँदा साहले चिप्स जोडेर पेट्रोल पम्पहरुले ठगी गर्दै आए पनि पम्प सञ्चालकसँग मिलेर मासिक रुपमा रकम उठाएको आरोप थियो ।

यस्तै सहसचिव पुडासैनी पनि सोही विभागको प्रमुख हुँदा विवादमा परेका थिए । सुरक्षा निकायका सामग्रीको गुणस्तर प्रमाणीकरण लगायतमा चलखेल गरेको तथा आयल निगमका लागि जग्गा खरिदमा अनियमितता गरेको लगायत आरोप उनीमाथि थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर