रूपन्देहीमा अपहरण गरेर जंगलमा लगी दुई किशोरीमाथि सामूहिक बलात्कार, नौ जना पक्राउ

रूपन्देहीमा दुई जना किशोरीमाथि सामूहिक बलात्कार भएको छ। बलात्कार आरोपमा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ।

बुधबार राति साढे १ बजे कञ्चन गाउँपालिका वडा नं. २ गोफ्लापुरस्थित बाटोमा हिँड्दै गरेका १५ र १६ वर्षका दुई किशोरीलाई ११–१२ जनाको समूहले अपहरण गरेर जंगलमा लगी बलात्कार गरेको प्रहरीले जनाएको छ।

घटनाबारे सूचना प्राप्त भएपछि राति नै इलाका प्रहरी कार्यालयहरू रुद्रपुर, सूर्यपुरा र सालझण्डीबाट खटिएको प्रहरी टोलीले बलात्कार आरोपमा नौ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए।

१५ वर्षकी किशोरीलाई गैडहवा गाउँपालिका वडा नं. ८ स्थित देउराली सामुदायिक वनको जंगलमा लगेर बलात्कार गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सैनामैना नगरपालिका–१० का १८ वर्षीय बबी पाण्डे, सोही ठाउँका २६ वर्षीय रामबहादुर विक र अन्य तीन जना छन्।

यस्तै १६ वर्षीया किशोरीलाई गैडहवा गाउँपालिका वडा नं. २ कुलिचौरस्थित कञ्चन खोलाको बगरमा लगेर बलात्कार गरेको आरोपमा चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सैनामैना नगरपालिका–११ वनकट्टीका १९ वर्षीय पदम कार्की, गैडहवा गाउँपालिका वडा नं. ८ का १८ वर्षीय राहुल परियार र अन्य दुई जना छन्।

पक्राउ परेकाहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर