विप्लव, ऋषि कट्टेल र आहुतिको पार्टीले चुनाव बहिष्कार गर्ने

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेकपा र विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका छन् । आइतबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरी तीनवटा साना वामपन्थी राजनीतिक दलहरूले चुनाव बहिष्कार गर्ने घोषणा गरेका हुन् ।

बहिष्कार कार्यक्रमका लागि कात्तिक २६ गतेदेखि ३० गतेसम्म देशव्यापी रूपमा विरोध प्रर्दशन र कोणसभासमेत आयोजना गर्न लागिएको नेकपाका नेता प्रकाण्डले जानकारी दिए । उनले दलालहरूले जित्ने चुनावले जनताको अधिकार सुनिश्चित नहुने भएकाले त्यसको विरोधमा आफूहरूले चुनाव बहिष्कार गर्ने नीति लिनुपरेको बताए ।

नेकपाका अध्यक्ष ऋषि कट्टेलले नेपालमा संसद्वादको अन्त्य गर्नका लागि आफूहरूले चुनाव बहिष्कार गर्ने निर्णय गरेको बताए । उनले नेपाली क्रान्तिलाई सफल बनाउन पनि सो चुनाव बहिष्कारको कार्यक्रमले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

वैज्ञानिक समाजवादी पार्टी, नेपालले चुनावको नौटंकी देशको हितमा नरहेकाले त्यसको बहिष्कार गर्ने कार्यक्रम घोषणा गर्नुपरेको बताएको छ । पार्टीका महासचिव विश्वभक्त दुलाल ‘आहुति’ले क्रान्तिकारी शक्तिहरूबीचको एकताबाट मात्रै नेपाली जनताको अधिकारलाई सुनिश्चित गर्न सकिने भएकाले पनि आफूहरूले चुनाव बहिष्कारको कार्यक्रमलाई संयुक्त रूपमा अघि बढाएको उल्लेख गरे ।

तीनवटै पार्टीले चुनावको भण्डाफोर गर्ने भन्दै काठमाडौंमा कात्तिक २४ गते, बुटवल र इटहरीमा कात्तिक २६ गते, बर्दिबास र पोखरामा कात्तिक २८ गते तथा सुर्खेत र धनगढीमा कात्तिक ३० गते विरोध प्रर्दशन र कोणसभा आयोजना गर्ने भएका छन् । सो कार्यक्रम स्थानीयस्तरमा पनि आवश्यकतका आधारमा तय गरिएको नेकपाका नेता प्रकाण्डले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *