स्याङ्जामा चितुवाको आक्रमणबाट तीन जना घाइते
चितुवाको आक्रमणबाट स्याङ्जामा तीन जना घाइते भएका छन् ।
वालिङ नगरपालिका–१४ कफ्लेटीमा चितुवाको आक्रमणबाट शुक्रबार बिहान ९:१५ बजेको समयमा दुई महिला र एक पुरुष घाइते भएका हुन् । वालिङ– १४ का वडाध्यक्ष बोधराज कुँवरका अनुसार वालिङ–१२ का किसान न्यौपाने, वालिङ–१४ की तुलसा पराजुली र लक्ष्मी पराजुली घाइते भएका हुन् ।
कफ्लेटीस्थित खेतमा काम गरिरहेको अवस्थामा न्यौपानेलाई घाइते बनाएर भागेको चितुवा स्थानीय चण्डीप्रसाद पराजुलीको घरमा पसेको र भित्र जाँदा तुलसा र लक्ष्मी घाइते भएको बताइएको छ ।
घाइते भएकी तुलसाको अनुहारमा गहिरो चोट लागेको छ । न्यौपानेको छाती तथा पाखुरामा चोट छ भने लक्ष्मीको पाखुरामा चोट लागेको छ । घाइते तीनै जनालाई गह्राैं प्राथमिक अस्पताल वालिङमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको अस्पतालका वरिष्ठ ल्याब अधिकृत ईश्वर कोइरालाले जानकारी दिए ।
चितुवालाई घरभित्रै थुनेर नियन्त्रणमा राखिएको छ । अहिले उक्त ठाउँमा स्थानीयवासी, प्रहरी र इलाका वन कार्यालय वालिङबाट टोली पुगेको छ । चितुवालाई नियन्त्रणमा लिने तयारी गरिएको छ ।
प्रतिक्रिया