काठमाडौं १ का मतदाताहरूको घाउ निको पार्न मैले जित्नैपर्छ : किरण पौडेल

नेकपा एमालेका नेता किरण पौडेलले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का जनताको हरेक समस्या समाधान गर्न नेकपा एमालेले जित्नैपर्ने बताएका छन्।

शनिबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी प्रचारप्रसारका क्रममा घरदैलो कार्यक्रममा सहभागी हुँदै उनले यस्तो बताएका हुन्।

उनले आसन्न निर्वाचनबाट आफू विजयी बनेपछि निर्वाचन क्षेत्रका जनताको हरेक समस्या समाधान गर्ने काममा तल्लिन रहने बताए। उनले अहिलेका जनप्रतिनिधिहरू ५ वर्षसम्म के गर्दैछन्, कसका निम्ति हिँड्दैछन् भन्ने कुराको महसुससमेत जनताले गर्न नपाएको भन्दै आगामी दिनमा आफूले जितेपछि हरेक बिहान निर्वाचन क्षेत्रका जनताको समस्या समाधान गर्ने र गुनासो सुन्ने बताए।

उनले जनताको गुनासो सुन्नका लागि आफूले जनतासँग जनप्रतिनिधि भन्ने अभियान सञ्चालन गर्ने पनि बताए। काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा उम्मेदवार रहेका नेता पौडेलले काठमाडौं १ का जनताले आफ्नो प्रतिनिधि कोही भएको महसुस गर्न नपाएको गुनासो गरेको बताए।

उनले आसन्न निर्वाचनको जितसँगै काठमाडौं १ का मतदाताहरूको चर्किरहेको घाउलाई निको पारेर जनताका चासो, सरोकारका विषयमा आफू प्रत्यक्ष जोडिएर समाधान गर्ने र शिक्षा, स्वास्थ्यका समस्याहरूको समाधान गर्ने पक्षमा नेकपा एमाले रहेको प्रष्ट पारे।

नेता पौडेलले काठमाडौं १ का मतदाताहरूले निर्वाचन क्षेत्रका अन्य प्रतिष्पर्धीहरूमध्ये सबैभन्दा उपयुक्त पात्रको रूपमा आफूलाई हेरिरहेको दाबीसमेत गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर