सशस्त्र महानिरीक्षक अर्यालले भने, ‘निर्वाचनमा सुरक्षा कमजोरी क्षम्य हुँदैन’

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले बाहिनी, गण तथा गुल्म कमाण्डरहरूलाई प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा पूरा गराउन प्रतिबद्ध भएर लाग्न निर्देशन दिएका छन्।

आइतबार सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट भर्चुअल माध्यमबाट देशभरका कमाण्डहरूलाई उनले सो निर्देशन दिएका हुन्।

महानिरीक्षक अर्यालले निर्वाचनका बखत कार्यक्षेत्रमा खटिँदा आइपर्ने जस्तोसुकै चुनौतीहरूको सामना गर्न तयार भएर बस्न निर्देशन दिँदै निर्वाचनको दौरानमा बल प्रयोग गर्नुपरेमा बल प्रयोगको सिद्धान्तअनुसार सबै प्रकारका सावधानी अपनाएर जिम्मेवारी पूरा गर्न भने। कुनै पनि कमीकजोरी भएमा स्वयं युनिट कमाण्डर जवाफदेही हुनुपर्ने उनले बताए।

सवारी साधनको उचित प्रयोग, त्यसमा अपनाउनुपर्ने सावधानी र न्यूनतम स्रोत साधनको अधिकतम प्रयोग गर्दै भोक, प्यास र थकानको पर्वाह नगरी २४सै घण्टा क्रियाशील रहन र राष्ट्रको यस महाअभियानमा उच्च मनोबल र हौसलाका साथ कार्यक्षेत्रमा खटिन उनले निर्देशन दिए। उनले भने, ‘निर्वाचनका बेला हुने कुनै पनि सुरक्षा कमीकमजोरी क्षम्य हुने छैन।’

फिल्डको वस्तुस्थिति बुझेर तत्काल चेनअफ कमाण्डमा रिपोर्ट गर्नुका साथै मुख्यालयबाट खटिने निर्वाचन अनुगमन टोलीले समेत फिल्डमा देखिएका समस्याहरूलाई तत्काल समाधान गर्न र मुख्यालयबाट गर्नुपर्ने समन्वय, सहयोग र समाधानमा कुनै कसर बाँकी नराख्न उनले विभागीय प्रमुखहरूलाई समेत निर्देशन दिए।

निर्वाचनको समयमा फिल्डमा खटिँदा सामान्यभन्दा सामान्य त्रुटिसमेत आफूले सुन्न र देख्न नचाहेको बताउँदै महानिरीक्षक अर्यालले बन्दोबस्तीलगायत अन्य भौतिक व्यवस्थापन संगठनले मातहत इकाइहरूसम्म पुर्‍याइसकेकाले त्यसको उच्चतम र भरपूर प्रयोग गर्नसमेत निर्देशन दिए।

सो कार्यक्रममा आसन्न निर्वाचनबारे बाहिनीपतिहरूले महानिरीक्षक अर्यालसमक्ष सम्पूर्ण तयारी पूरा भएको योजना प्रस्तुत गरेका थिए।

सशस्त्र प्रहरी बल, नेपालले देशैभरि खटिएका जुनसुकै दर्जाका कमाण्डर तथा अन्य सशस्त्र प्रहरी कर्मचारीहरूले कार्य विभागका प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रप्रकाश गौतम, केन्द्रीइ निर्वाचन सेल प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक किशोर प्रधान तथा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक विष्णुप्रसाद भट्टलाई सम्पर्क गर्न सक्ने गरी आजैबाट हटलाइन टेलिफोनको समेत व्यवस्था गरेको छ ।

महानिरीक्षक अर्यालको निर्देशनअघि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रप्रकाश गौतमले निर्वाचनको समयमा हुनसक्ने समस्या, चुनौती तथा कार्यक्षेत्रमा खटिँदा अपनाउनुपर्ने कार्यशैलीबारे मातहत कमाण्डरहरूलाई निर्देशन दिएका थिए भने महानिरीक्षक अर्यालसमक्ष सशस्त्र प्रहरी नायब महानिरीक्षक किशोर प्रधानले चुनाव केन्द्रित प्रस्तुतीकरण गरेका थिए।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम तथा वंशीराज दाहाललगायत सशस्त्र प्रहरी बल, नेपालका बाहिनीपतिहरू, मुख्यालयका वरिष्ठ अधिकृतहरू, गणपति र गुल्मपतिहरूको प्रत्यक्ष तथा भर्चुअल सहभागिता रहेको थियो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर