आमनिर्वाचन-२०७९

लुम्बिनीमा यी हुन् भावी मुख्यमन्त्रीका दाबेदार

लुम्बिनी प्रदेशमा भावी मुख्यमन्त्रीका लागि प्रमुख दलबाट आधा दर्जनभन्दा बढी आकांक्षी देखिएका छन् । अघिल्लो चुनावमा एमालेले बहुमत पाएको यो प्रदेशमा यसपटक भने सत्ता गठबन्धन प्रदेश सरकार बनाउने दाउमा छ ।

तर, उक्त गठबन्धनमा रहेका दलहरुले आआफ्नो मुख्यमन्त्रीको दाबेदार को हुने भन्ने तय गरेका छैनन् । अर्कोतर्फ चुनावपछि सत्ता गठबन्धनमा सहभागी कुन दलले यो प्रदेशको भाग पाउनेछ, त्यसले पनि कुन दलका उम्मेदवार मुख्यमन्त्री बन्ने सम्भावना हुनेछ भन्ने प्रष्ट पार्नेछ ।

यसपटक अघिल्ला मुख्यमन्त्रीहरु प्रदेशसभाको उम्मेदवार छैनन् । एमालेबाट मुख्यमन्त्री बनेका शंकर पोखरेल दाङबाट प्रतिनिधिसभाको निर्वाचन लड्दै छन् । यस्तै, माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका कुलप्रसाद केसीले यसपटक टिकट नै पाएनन् । त्यसैले चुनावपछि यो प्रदेशले नयाँ मुख्यमन्त्री पाउनेछ ।

लुम्बिनीमा ५२ क्षेत्रमध्ये ३३ सिटमा कांग्रेसले उम्मेदवार दिएको छ । कांग्रेसबाट लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन मुख्यमन्त्रीको दाबेदार छन् । उनी रोल्पाको १ (२ं बाट उम्मेदवार छन् । कांग्रेसबाट मुख्यमन्त्रीका अकांक्षीमा वीरेन्द्रकुमार कनोडिया पनि छन् । उनी कपिलवस्तु ३ (२) बाट उम्मेदवार छन् । उनी यसअघि प्रदेशमा कांग्रेस संसदीय दलका नेतासमेत थिए । कांग्रेसका अन्य आकांक्षीमा डिल्ली चौधरी, अब्दुल रज्जाक लगायत छन् ।

यो प्रदेशमा माओवादीले १७ सिटमा मात्र भाग पाएको छ । नेकपा एस शून्य छ भने जनमोर्चा र लोसपाले १–१ सिट पाएका छन् । त्यसैले सत्ता गठबन्धनको जितमा कांग्रेसको नेतृत्वमा प्रदेश सरकार गठन हुने सम्भावना धेरै छ । माओवादीका तर्फबाट मुख्यमन्त्रीको आकांक्षीमा सुदर्शन बराल छन् ।

एमालेबाट रुपन्देही २ (१) बाट उम्मेदवारी दिएका पार्टीका पोलिटब्यूरो सदस्य एवं प्रदेश सहइञ्चार्ज लिला गिरी मुख्यमन्त्रीका प्रमुख दावेदार हुन् । शंकर पोखरेल नेतृत्वको सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रहेका गिरी एमालेका अन्य आकांक्षी भन्दा सबैभन्दा सिनियर हुन् । उनीसँगै रुपन्देही २ (२) का उम्मेदवार पार्टी प्रदेश उपाध्यक्ष तथा पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठ, रुपन्देही १ का उम्मेदवार एवं पोलिटब्यूरो सदस्य तथा प्रदेश सहइञ्चार्ज दधिराम न्यौपाने, दाङ तुल्सीपुरका पूर्वमेयर घनश्याम पाण्डे मुख्य दाबेदार छन् । लुम्बिनी प्रदेशसभामा ८७ जना सदस्यहरू हुन्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर