देशभर मतदान जारी, शीर्ष नेताहरु तथा उम्मेदवारबाट बिहानै मतदान

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान सुचारु रहेको छ ।

देशभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि मतदान प्रारम्भ भएको हो । मतदानका लागि मतदाता बिहान सबेरैदेखि मतदान केन्द्रमा पुगिसकेका छन् ।

मतदान केन्द्रमा महिला मतदाताको सङ्ख्यासमेत उल्लेख्यरुपमा देखिएको छ । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको छ । मतदाताले निर्वाचनका लागि तयार गरिएको चार वटा बेग्लाबेग्लै मतपत्रमा स्वस्तिक छाप लगाई मतदान गर्नेछन् ।

निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदातालाई मताधिकार छ । निर्वाचनका लागि १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ । मतदान अपराह्न ५ बजेसम्म चल्नेछ ।
देशभरका विभिन्न मतदान केन्द्रहरुमा राष्ट्रिय ब्यक्तित्व र शीर्ष नेताहरुले बिहानै मतदान गरेका छन् । उनीहरुले बिहानै मतदान गरेर सबैलाई मतदानका लागि आह्वान समेत गरेका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकास्थित सेतीदेवी पञ्चकन्या मावि कुविण्डे मतदान केन्द्रबाट मतदान गरेका छन् । सापकोटा मतदानका लागि शनिबार मात्रै सिन्धुपाल्चोक पुगेको प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।

यस्तै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिकास्थित वडा नं ७ राम्जाको पशुपति मावि ‘क’ केन्द्रबाट मतदान गरेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन जिल्लाबाट मतदान गरे ।

उनले बिहान ७ः१५ बजे भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुरको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

नेपाली काङ्ग्रेसका महामन्त्री तथा काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार गगन थापाले मैतिदेवी स्थित मतदान केन्द्रबाट मतदान गरेका छन् ।

अन्य उम्मेदवार तथा नेताहरुले मतदानगर्नेक्रम जारी रहेको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *