आमनिर्वाचन-२०७९ : यस्ताे छ देशभरकाे मतदानकाे अवस्था

मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि दोस्रोपटक भइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत आज मतदान भइरहेको छ।

देशका ७७ वटै जिल्लामा बिहान ७ बजेबाट सुरु मतदान अपराह्न ५ बजेसम्म जारी रहने छ। मतदान सकिएलगत्तै गणना सरु गर्ने निर्वाचन आयोगको तयारी छ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले काठमाडौंलगायत तराईका जिल्लाहरूमा आज राति ९ बजेबाट नै मत गणना सुरु गरिने बताएका छन्।

मतदान चलिरहँदा कुनै ठाउँमा बम विष्फोट भएको छ भने १० ठाउँमा तनावको स्थिति सिर्जना भएपछि प्रहरीलाई हवाई फायर गर्नुपरेको छ। यस्तै केही ठाउँमा विवादका कारण मतदान स्थगित भएको छ। केही जिल्लामा शंकास्पद वस्तु भेटिएका छन्। झडपका घटना पनि भएका छन्।

मतदान केन्द्र नजिक बम विष्फोट भएपछि बर्दियाको गुलरिया नगरपालिका २ शम्भुशरण मावि खैरापुर मतदान केन्द्रको मतदान रोकिएको छ।

झापाकाे झापा गाउँपालिका-२ काे कुवाडीदेवी विद्यालयस्थित मतदान केन्द्रमा पनि बम विष्फोट भएकाे छ।

बिहान १० बजेर २० मिनेटको समयमा बम विष्फोट भएकाे हाे। विष्फोटपछि केहीबेर मतदान अवरुद्ध भएको थियाे।

चितवनको क्षेत्र नं. १ स्थित ब्रह्मस्थानी मतदान केन्द्रको बुथमा विप्लवका कार्यकर्ताले मतपेटिकामा आगो लगाउने प्रयासपछि मतदान स्थगित गरिएको छ।

राप्ती नगरपालिका वडा नं. ८ मा विप्लवका कार्यकर्ताले आगो लगाउने प्रयास गरेपछि मतदान स्थगित गरिएको हो।

मतपेटिका जलाउने प्रयास गरेपछि प्रहरीले एक राउण्ड हवाइफायर समेत गरेको छ। अहिले सो क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ।

रौतहटको गुजारा नगरपालिका–४ को एक मतदान केन्द्रमा सत्तारुढ गठबन्धन र नेकपा एमाले नेतृत्वको गठबन्धनका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले गोली चलाएको छ।

मतदान केन्द्र बाहिर दुई पक्षबीच झडप भएपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेको हो।

मतदानस्थल बाहिर हुलहुज्जत गरेका कारण उनीहरुलाई तितरवितर पार्न गोली चलाएको बताइएको छ।

जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच मतपेटिका खोसाखोस भएपछि सिराहामा प्रहरीले हवाई फायर गरेको छ।

सिरहाको कर्जन्हा नगरपालिकाका– ६ को जनता मा.वि. बडहरामाल दुबै पार्टीका कार्यकर्ताले मतपेटिका खोसाखोस गरेपछि प्रहरीले ३ राउन्ड हवाई फायर गरेको हो।

मतपेटिका तानातानले केहीबेर तनाव भए पनि अहिले भने मतदान सुचारु भएको छ।

दोलखाको तामाकोशी गाउँपालिका–४ डाँडागाउँ गोल्मेश्वर मावि मतदान केन्द्रमा गठबन्धन र एमालेका कार्यकर्ताबीच विवाद हुँदा स्थितिलाई नियन्त्रणमा लिन एक राउण्ड हवाई फायर गरिएको प्रहरीले जनाएको छ।

पाल्पाको तानसेन नगरपालिका ६ जनप्रिय मावि मतदान केन्द्रमा बिहान भएको मतदान रद्ध गरी फेरि मतदान थालिएको छ।

६८ मत खसेपछि त्यहाँ समानुपातिक तर्फको मतपत्र खसाल्ने संघ र प्रदेश सभाको मतपेटिका एक अर्कामा साटिएको पत्ता लागेको थियो। त्यसपछि विवाद भएको थियो । ती खसेका सबै मत रद्ध गर्ने र ६८ जनालाई फेरि मतदान गर्न लगाउने सर्वदलीय बैठकको निर्णय अनुसार फेरि मतदान सुरु भएको हो।

बाजुराका ३ वटा मतदान केन्द्रमा विवाद हुँदा मतदान स्थगित भएको छ। जिल्लाको बूढीगंगा नगरपालिका–८ को मतदान केन्द्र, बढीनन्दा–५ र स्वामिकार्तिक खापर गाउँपालिका–४ को एक केन्द्रमा मतदान स्थगित भएको हो।

राजनीतिक दलहरुबीच विवाद भएपछि ती मतदान केन्द्रको मतदान प्रक्रिया स्थगित भएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर